
केदार शर्मा
चितवन, ६ बैशाख । चितवनमा कोरोना पोजेटिभ देखिएका आमाछोरा काठमाडौंबाट चितवन आउँदा माईक्रो चढेर आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै काठमाडाैँ आएका थिए । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष दुई दिन काठमाडौं बसेर चैत ५ गते चितवन आएका थिए ।
‘उनीहरु बसुन्धराको एक होटलमा बसेको र सोही होटल मार्फत ट्याक्सी चढेर कलंकीसम्म पुगेपछि माईक्रो चढेर चितवन आएका रहेछन्,’ उनीहरुको ट्राभल हिष्ट्री बुझिरहेकाे स्रोतले लाई बतायो ।
उनीहरु बसुन्धरा कुन होटलमा बसे भन्ने थाहा हुन सकेको छैन । साथै उनीहरु कुन माईक्रोमा आएका थिए र उक्त माईक्रोमा कहाँका अरू कोको थिए भन्ने बिषयमा अनुसन्धान भएको प्रहरीले बताएको छ । उनीहरु आएको उक्त माईक्रोमा उनीहरुसँगै अन्य ५/६ जना रहेको बुझिएको छ ।
यता, उनीहरूमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी परिचालन गरेर गाउँमा सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन गर्ने कार्य धमाधम भइरहेको छ । उनीहरुको सम्पर्कमा आएका ब्यत्तिहरुको विवरण संकलन गर्दै आज पहिलो दिन ५ जनाको आरडीटी टेस्टको काम भईरहेको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिनुभयो ।
मेयर बरालका अनुसार उनीहरू विदेशबाट आएपछि होम क्वारेन्टाइनमा बसेका थिए । तर, समय अवधि पुगेपछि बाहिर निस्केको हुन सक्ने उहाँको ठम्याई छ । उनीहरूसँग सम्पर्कमा अाएका अन्यलाई पनि क्वारेन्टाइनमा राखिने नगरपालिकाले जानकारी दिएकाे छ ।
यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको बिहीबार राति कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राति नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो ।
काठमाडौँमा पनि पोजिटिभ आएपछि बल्ल भरतपुर अस्पतालले आधिकारीक रुपमा कोरोना पुष्टि गरेको थियो । उनीहरुको उपचार अहिले भरतपुर अस्पतालको आईसोलसनमा भईरहेको छ । उनीहरुलाई लक्षण भने केही देखिएको छैन । उनीहरुलाई दुई वटा आईसोलेसनमा राखिएको छ ।
-यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।