
टोक्यो। । जापानमा कोरोनाभाइरसको नयाँ लहरबाट आपतकालीन चिकित्सा प्रणाली ध्वस्त भएको छ । हालत यतिसम्म खराब भइसकेको छ कि अस्पताल नयाँ संक्रमितहरुलाई भर्ना गर्नबाट जोगिने प्रयास गर्न थालेका छन् । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या लगभग १० हजार पुगेको छ । यो रोगबाट यहाँ १९० जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी एपीका अनुसार हालै ज्वरो र सास फेर्न कठिनाइ भएका एक व्यक्तिलाई ८० वटा अस्पतालले भर्ना गर्न मानेनन् ।
यस्तै अर्को एक केसमा ज्वरोबाट पीडित एक व्यक्तिलाई भर्ना गर्नको लागि अस्पतालले ४० वटा क्लिनिकमा सम्पर्क गरे तर सबै क्लिनिकले भर्ना गर्न अस्वीकार गरेपछि अन्ततः घण्टौंपछि भर्ना गरियो ।जापनिज एसोसिएसन अफ एक्युट मेडिसिन र जापानिज सोसाइटी फर इमरजेन्सी मेडिसिनका अनुसार कैयौं अस्पतालका इमरजेन्सी कक्ष यस्ता बिरामीको उपचार गर्न अस्वीकार गरिरहेका छन् जो हृदयाघात वा बाहिरी चोटको उपचारको लागि आएका छन् । भाइरसको प्रकोपले जापानमा चिकित्साको अन्तरनिहीत कमजोरीलाई उजागर गरिदिएको छ ।
विशेषज्ञहरुले सरकारमाथि आरोप लगाउँदै सेक्युरिटी गियर र उपकरणको व्यापक कमीका कारण स्वास्थ्यकर्मीलाई आफ्नो काममा समस्या भइरहेको बताएका छन् । जापानका अस्पतालमा बेड र मेडिकल स्टाफको ठूलो कमी छ । अस्पतालमा भीड र उपकरणको अभावको कारण हल्का लक्षण भएका बिरामीको उपचार भइरहेको छैन ।