एजेन्सी – नोवेल कोरोना भाइरस(कोभिड–१९)को महामारीले विश्व आक्रान्त छ। यसबाट बच्न मानिसहरुलाई सामाजिक दुरी कायम गर्न भनिएको छ। मानिसहरु नै मानिसबाट डराउनु पर्ने अवस्था सिर्जना भएको छ।
यस्तो अवस्थामा स्वीडेनकी राजकुमारी सोफियाले एउटा उदारणीय काम गरेकी छन्। उनले स्टकहोल्ममा रहेको सोफियाहेम्मेट अस्पतालमा काम गर्न थालेकी छन्। सोफियाहेम्मेट विश्वविद्यालयमा कोरोना भाइरस सम्बन्धी तीन दिने तालिम लिएपछि उनी बिरामीको उपचारमा लागेकी हुन्। उनी कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न हुने छिन्।
राजकुमारी नै कोरोना संक्रमितको उपचारमा खटिने भएपछि सामाजिक सञ्जालमा मानिसहरुले उनको खुलेर प्रशंसा गरेका छन्।