इनरुवा / सुनसरीको हरिनगरमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा पठाएको छ । भारतीय सिमावर्ती क्षेत्रमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सुनसरी प्रहरीको टोलीले क्वारेन्टाइनमा पठाएको हो । सुनसरी प्रशासनले जिल्लाका कुनै पनि मस्जिदमा कोही पनि आश्रय लिएर बस्न नपाउने भनि हिजो मात्रै सूचना जारी गरेको थियो । सोही निर्णय अनुरुप प्रहरीले जिल्लामा रहेका मस्जिदमा निगरानी बढाएको छ ।
घुस्कीको मस्जिदमा भेटिएको भनिएकाहरुको सम्वन्धमा भने प्रशासनले यसअघिनै आफुहरुको जानकारीमा रहेको बताएको छ । प्रशासनले उनीहरु लक डाउन पहिलानै सुनसरी भित्रिएको जानकारी आफुकहाँ रहेको बताएको छ । सुरक्षात्मक उपाय अपनाउदै स्थानीय स्तरमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सरकारको पछिल्लो निर्णयका आधारमा क्वारेन्टाइन स्थलमा सारिएको प्रजिअ राजेश पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार उनीहरु सबैलाई भुटाहा संचालनमा रहेको क्वारेन्टाइन स्थलमा सारिएको छ ।
सुनसरी प्रशासनले दिएको जानकारी अनुसार प्राप्त पछिल्लो केन्द्रीय निर्णय अनुसार कोही पनि मस्जिदहरुमा आश्रय लिई बस्न पाउने छैनन् । जथाभावी बस्दा संक्रमणको जोखिम बढ्ने र अन्यत्रबाट आएर आश्रय लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुनसरीका मस्जिदहरुमा निगरानी बढाइएको प्रशासनले जनाएको छ । प्रशासनले मुस्लिम अगुवाका साथै आम सर्वसाधारणलाई विषय परिस्थितिमा साथ र सहयोग गर्न अपिल समेत गरेको छ । उसले लुकिछिपी बसेको जानकारीमा भए सूचना दिन समेत सर्वसाधारणमा आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिदमा बस्दै आएको ६२ जनालाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई पायक पर्ने क्षेत्रमा संचालनमा रहेका क्वारेन्टाइन स्थलमा राखिएको छ । सुनसरी प्रशासनले ६२ जना बाहेकको हकमा आफुहरुलाई जानकारी नभएकाले कहीकतै कुनै मस्जिदमा अब उपरान्त अन्य व्यक्ति आश्रय लिई बसेको भेटिए त्यो गैरकानुनी हुने स्पष्ट पारेको छ ।