
मोरङको कानेपोखरी गाउँपालिकाबाट दुई दिनअघि कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको ७२ वर्षीय एक वृदको निधन भएको छ ।
कानेपोखरी–२, स्थित बाँघेझोडाका लक्ष्मिप्रसाद भट्टराईको उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो ।
उनको निधनको कारण खुल्न नसकेको कानेपोखरी गाउँपालिका स्वास्थ शाखाले जनाएको छ । वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको फेसबुक वालमा मृत्युबारे पोष्ट गरेका थिए ।
फेसबुक स्टाटसमा प्रश्नको उत्तर दिने क्रममा वडाध्यक्ष बुढाथोकीले निमोनियाका कारणले उनको मृत्यु भएको जनाएको छ । उनको कोरोनाको स्वास्थ परीक्षणको रिपोर्टमा नेगेटिभ (संक्रमणा नभएको) आएको थियो ।
वृद घरमा एक्लै बस्दै आएका थिए । छोराहरू भारतको सिक्किममा बस्दै आएका छन् । उनलाई मंगलबार एम्बुलेन्स मार्फत विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
डेढ हप्ताअघि उनी घरमा भारतीय नागरीकको समूह आएर केही समय घरमै बसेको कारण आशंकामा स्थानीयहरूको पहलमा विराटनगर लगिएको थियो ।