
काठमाडौं- महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक साता पाँच जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।
बिहीबार लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको क्रममा मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउने पूर्व गोरखा सैनिकको संख्या एक सातामै पाँच पुगेको हो ।
पाल्पा स्थायी घर भएका थापामगरलाई उपचारका लागि मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो ।
पहिलेदेखि पिसाबथैलीको र उच्चरक्त चाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।
यसअघि मंगलबार बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको थियो । लण्डनको वेष्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको स्थानीय हिलिङडन अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै सोमबार बेलायतको रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको कोरोनाबाटै मृत्यु भएको थियो ।
यस्तै कोरोना भाइरसका कारण बेलायतमा शनिबार पूर्व गोरखा सैनिक यामबहादुर मल्लको मृत्यु भएको थियो । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएका हो ।
यस्तै पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङ चैत २६ गते कोरोनाको संक्रमणकै कारण मृत्यु भएको थियो । लण्डनको नर्थवीक पार्क अस्पतालमा उनको मृत्यु भएको हो ।