
पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव’मा नृत्य गरेर कला यात्रा थालेकी हुन् ।
कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सबाट ‘ब्याचरल इन पब्लिक हेल्थ’ अन्तिम वर्षमा अध्ययनरत रुविनाको म्युजिक भिडियो मोडलिङ यात्रा २०७१ सालबाट सुरु भएको हो । सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नै पर्ने भो…,’बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६०भन्दा बढी भिडियो गरिसकेकी छन् ।
टिका तारामी मगर र चन्द्र शर्माको ‘बाच्छीले धान खायो,’ अनिता चलाउनेको ‘एन्ट्री मार्यो मायाले,’ जय देवकोटाको ‘रुँदो हो मन,’ हरि विष्टको ‘माइतीको देश,’ भागीरथ चलाउनेको ‘जाउँला बरी लै,’जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । चलचित्र ‘भिलेन’को एउटा गीतमा नृत्य प्रस्तुत गरिसकेकी यिनै मोडलसँग राजधानी दैनिकका डब्बु क्षेत्रीले गरेको सटकट संवाद :
– स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र ?
आएको छ । तर, राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा ‘डेब्यु’ तयारी गर्नेछु ।
– त्यसो भए फिल्ममा तत्काल नआउने ?
अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु । त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ ।
– स्टेज कार्यक्रम किन बढी ?
स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु ।
– कति आउछ एउटा कार्यक्रममा ?
मेला महोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०-३५ हजार पाइन्छ । काठमाडौंमा हेरेर पैसा पाइन्छ । १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ ।
– अहिले त कोरोना भाइरसले स्टेज कार्यक्रम पनि सुक्यो होला है ?
हो नि । यसपालि पुसदेखि फागुनसम्म १७ वटा गरें । फागुन दोस्रो साताबाट कोरोना त्रास फैलिएपछि बाँकी ७ वटा कार्यक्रम रद्द भए ।
– मोडलिङ यात्रा कस्तो चल्दै छ ?
ठिकै छ । मासिक तीन-चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै पर्यो ।
– प्रतिस्पर्धा कस्तो छ यो क्षेत्रमा ?
छ पनि, छैन पनि । एकभन्दा अर्काले राम्रो गर्ने होड छ । यो होड नै आफैंमा प्रतिस्पर्धा हो ।
– शोषण हुन्छ भन्ने गुनासो छ त ?
कस्तो शोषण भन्ने ? आर्थिक शोषण हुन्छ । त्यसो त, हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन । नराम्रो दृष्टिकोण लिएर आउनेसँग टाढै बस्ने गरेकी छु ।
– त्यस्तो बेला के जवाफ हुन्छ ?
मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन“ । आफैं टाढा बस्छु ।
-कसैको प्रेममा परिएको छ ?
थियो । तीन वर्ष प्रेममा रहें । विचार नमिलेर टुट्यो । अहिले एकल छु ।
– प्रेम त टुट्यो, अब के हुन्छ त ?
अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।