
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतीजा भने पोजिटिभ आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने ।
कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो । दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
थप जानकारी
नेपालमा कोरोना भाइरस संक्रमित पाचौं व्यक्ति हुन् बाग्लुङ्गकी १९ वर्षिया अंशु सापकोटा । कोराना भाइरस देखिएपछि आफ्नो नाम सार्वजनिक गर्ने पहिलो व्यक्ति हुन् अंशु । नेपालमा कोरोना भाइरस संक्रमण भएको मैतिदेवीक १९ वर्षिया युवती र बाग्लुङ्गकी युवती एकै विमानमा आएका थिए । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।उनलाई टेकु प्रयोगशालाले चैत १५ गते कोरोना पोजेटिभ भएको पुष्टि गरेको थियो ।
नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा हुन् । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । यी वृद्धा र पाँचौं संक्रमित बागलुङकै १९ वर्षीया किशोरी अंशु सापकोटा आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए ।