
दोहा / कतारमा कार्यरत नेपालीहरुलाई कम्पनीले वासस्थान छोड्न दवाव दिएन थालेका छन् । कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा हाल कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई आफू कार्यरत कम्पनीले उपलब्ध गराएको बासस्थान छोड्न दबाब दिने गरेको गुनासो आएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
दूतावासले सूचना जारी गर्दै त्यस्ता गुनासा सहित फोन इमेल आउने गरेको बताउँदै त्यस्ता गुनासाहरु कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको ९२७२७ मा म्यासेज गर्न तथा टेलिफोन नम्बर ४०२८०६६० वा १६००८ मा सम्पर्क गर्न समेत दूताबासले अनुरोध गरेको छ ।
बासस्थानलगायत खाना र तलबका बारेमा परेका गुनासाहरुका लागि कतार सरकारको मन्त्रालयमा म्यासेज गर्दा कतारी आईडी वा भिसा नम्बरको अगाडि ५ थपेर पठाउनु दूतावासले जानकारी गराएको छ।
कतारमा भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ११ जना पुगेको छ । अहिलेसम्म ४०६ उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने मृतकको संख्या ७ पुगेको छ । अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको दुताबासले जनाएको छ ।
यता, बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्या समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा दोस्रो चरणमा कतार च्यारिटीद्वारा प्राप्त साथै नेपाली दूतावास कतारको विशेष पहल र उपस्थितिमा कतारको विभिन्न ठाउँमा रहेका २५० नेपाली श्रमिकहरुलाई खाद्यान्न बितरण गरिएको एनसीसी कतारका महासचिव पदम गिरीले जानकारी दिएका छन् ।