
धनगढी । रुकुम पश्चिमका दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएकोमा रुकुम पश्चिमका ३९ जनाको स्वाबमध्ये दुई जनाको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो। उनीहरुको रिपोर्ट सुर्खेत पठाइएकोर सुर्खेतबाट पुनः परीक्षणका लागि काठमाडौं पठाइएको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरडीटि विधिबाट कोरोना परीक्षण गरेको थियो । बुधबार वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी उनमा र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।
ती महिलाको पीसीआर विधिबाट परीक्षणका स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको मेयर खरेलले बताए । टेकुबाट आउने रिपोर्टबाट मात्र आधिकारीक जानकारी आउने समेत मेयर खरेलले जानकारी दिए ।महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए। त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ।
बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्। कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे भन्छन्, ‘यसको मतलब उहाँहरु कुनै समयमा कोभिड-१९ रोगबाट संक्रमित हुनुभएको थियो । तर, अहिले उहाँहरु रोग सार्ने अवस्थामा हुनुहुन्न भन्ने हो ।’
डा. पाण्डेले भनेजस्तै र्यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ आएको व्यक्ति कोरोना संक्रमित भएर निको हुने क्रममा रहेको वा भइसकेको हो । र, उनीहरुबाट अहिले कोरोना सर्दैन । त्यसैले उनीहरु घर जान सक्छन् ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार मानव शरीरमा भाइरस प्रवेश गरेको तीनदेखि पाँचौं हप्तामा र्यापिड टेस्टमा पोजेटिभ र पीसीआरमा नेगेटिभ देखिन्छ । आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठी भन्छन्, ‘भाइरसलाई निष्कृय पार्न शरीरमा उत्पादन भएको एण्टिबडीका कारण र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आउँछ ।’
तर, निरुत्तरित प्रश्न चाहिँ के हो भने यसरी र्यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई कहिले कोभिड-१९ संक्रमण भएको थियो ? अनि, नेपाल प्रवेश गर्दा कोरोना संक्रमण ट्रान्समिसन हुने अवस्थामा थियो कि थिएन ?
नेपाली चिकित्सकहरुसँग यसको ठोस जवाफ छैन ।