
झापामा पनि एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ।
ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।
गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ।
यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ।
उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ। दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए। उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ।
सूचना लुकाएको पत्रकारको आरोप
र्यापिड डाइग्नोस्टिक टेस्ट किट परीक्षणको सूचना जनस्वास्थ्य कार्यालयले लुकाएको भन्दै झापाका पत्रकारहरु रुष्ट बनेका छन् । झापा भद्रपुरलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पार्थ मण्डल भन्छन् “र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखाउदा पनि जनस्वास्थ्य कार्यालय झापाले सत्यता लुकाउनुकाे पछि स्वार्थ के छ र? मैले नबुझेकाे कुराे ।”
किटको नतिजाले जनमानसमा अलमल
झापामा मात्रै हैन देशका विभिन्न स्थानहरुमा गरिएका र्यापिड डाइग्नोस्टिक टेस्ट किट परिक्षणमा धेरै मानिसहरुको पोजेटिभ आएपछि पिसिआर अर्थात थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ आउने गरेको छ ।
आरडीटी टेस्ट गर्दा चारवटा परीक्षण नतिजा आँउछ। जसलाई वैज्ञानिक भाषामा ट्रु पोजेटिभ, ट्रु नेगेटिभ, फल्स पोजेटिभ र फल्स नेगेटिभ भनेर वर्गीकरण गरिएको छ।
आरडीटी परीक्षणमा पोजेटिभ आए पनि पीसीआर पद्धतिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको केसमा पहिलो नतिजालाई फल्स पोजेटिभमा राखिन्छ।
आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आए पनि कोभिड- १९ को पीसीआर परीक्षण नेगेटिभ देखिएको यो केस ‘फल्स पोजेटिभ’ हो। बाँकी दुई केस ‘ट्रु पोजेटिभ’। यही अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आरडीटी टेस्टको नतिजालाई क्लिनिकल प्रयोजनका लागि प्रयोग नगर्न सुझाव दिएको हो।