
३ बैशाख कास्की : पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाईडका बासिन्दा लक्ष्मण श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण बेलायतको राजधानी लण्डनमा मृत्यु भएको छ ।
पोखरा ६ लेकसाइड स्थित जरेबर घर रहेका श्रेष्ठ ५९ बर्षका थिए ।
पूर्व ब्रिटिश आर्मी श्रेष्ठ श्रीमती र छोरा छोरी सहित लण्डनमा बस्दै आएका थिए ।
कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि १४ दिन अघि उनलाई लण्डन स्थित एक अस्पतालमा भर्ना गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
स्वास प्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो । ‘अस्पतालले आज जानकारी दियो, भन्यो– धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।’ परिवारका ती सदस्यले भने ।
मृतक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडी समेत हुन । उनले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा ठेला फाल्ने प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए ।
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भनिए भन्दा धेरै हुनसक्ने
बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बेलायती सरकारले पहिले अनुमान गरेभन्दा बढी भएको रोयटर्सले जनाएको छ।
नयाँ आँकडा अघिपनि कोरोना भाइरसको मृतक संख्यामा बेलायतमा विश्वको पाँचौ नम्बरमा थियो।
योसँगै सरकारका एक वरिष्ठ वैज्ञानिक सल्लाहकारले बेलायत युरोपमा सबैभन्दा बढी मुलुक बन्ने खतरामा रहेको बताएका थिए।
राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार अप्रिल ३ सम्म मात्र बेलायतका ५,९७९ मान्छे कोरोनाका कारण मरेको जनाएको छ। यो संख्या स्वास्थ्य सेवाले प्रकाशित गरेभन्दा १५ प्रतिशतले बढी हो।
‘कम गणना हुनेछ भन्ने कुरामा म आश्चर्यचकित छैन’, हाबर्ड टिएच चान स्कूल अफ पब्लिक हेल्थका महामारी विज्ञानका प्राध्यापक बिल ह्यानेजले रोयर्टससँग भने।
‘बेलायती अस्पतालमा मृत्यु हुने संख्या जुन देखिरहनु भएको छ, यो सही संख्या भने होइन। यसमा नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन’, उनले भने।
उनका अनुसार मृत्यु संख्या निकै कम बाहिरीएको छ।
बेलायती जनस्वास्थ्य मेडिकल निर्देशक योभ्ने डोयलले सरकार ओएनएससँग मिलेर सूचना निकाल्ने गतिमा तीव्रता दिइरहेको बताएकी छिन्।
‘मृत्युको कारण के हो भन्ने बुझेरै मात्र स्पष्ट रुपमा मृत्युदर्ता गर्न सम्भव छ। यसको लागि समय लाग्छ,’ निर्देशक डोयलले भनिन् उनीहरु यसमा दैनिकी तथ्यांक आउने हिसाबमा छिटो काम गरिरहेका छन्।
अप्रिल १३ सम्म बेलायतमा कोरोनाका कारण मृतक संख्या १२,१०७ पुगेको तथ्यांक छ।