
काठमाडौँ – काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै उक्त संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि तानिएको छ । कोरोना भाइरसको संक्रमित फेला परेका उक्त अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी भएको खुलासा भएसँगै सिंगो मन्त्रिपरिषद् नै जोखिममा रहेको आशंका व्यक्त गरिएको हो ।
सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा पनि परिवारसहित बस्दै आउनुभएको छ । उहाँ सनसिटी अपार्टेन्टमा हालै भएको निर्वाचनमा सचिव पदमा उम्मेदबार बनेर विजयीसमेत हुनुभएको थियो ।
चैत आठ गते निर्वाचन भएपछि छोराको विजयोत्सव समारोहमा सहभागी हुन अर्थमन्त्री खतिवडा चैत ११ गते सनसिटी अपार्टमेन्टमा पुग्नुभएको त्यहाँ बस्ने कलाकार पुष्कर रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार मन्त्री खतिवडा झण्डावाल गाडीसहित अपार्टमेन्ट पुग्नुभएको र झण्डै एकघण्टापछि फर्कनुभएको थियो ।
बेलायतबाट फर्केका संक्रमितहरुको परिवारसँग अर्थमन्त्रीका छोरा तिलकको पर्याप्त हेलमेल भएको स्थानीय बताउँछन् । त्यसपछि बुवासँग सम्पर्क भएको र यसरी संक्रमितको लहरो मन्त्री खतिवडा र उनी हुँदै अन्य मन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पुगेको छ । मन्त्री खतिवडाले सनसिटीबाट फर्केपछि मन्त्रिपरिषद् बैठक तथा अन्य अवसरहरुमा धेरैपटक अन्य मन्त्री तथा प्रधानमन्त्रीलाई पनि भेट्नुभएका कारण सिंगो मन्त्रिपरिषद नै जोखिममा रहेको आशंका व्यक्त गरिएको छ ।
तर सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री खतिवडाले यसबारे कुनै जानकारी सार्वजनिक गर्नुभएको छैन । बरु आफ्ना निकट व्यक्तिहरुमार्फत सत्य लुकाउने प्रयास गरिरहेको भन्दै उहाँको आलोचना भइरहेको छ । कांग्रेस नेता चन्द्र भण्डारीले प्रश्न उठेपछि जवाफ दिनुको साटो अर्थमन्त्रीले चुप लागेर बस्नु चिन्ताजनक रहेको बताउनुभयो ।
यता कानुनका जानकारहरुले भने अर्थमन्त्री खतिवडाले गम्भीर सामाजिक अपराध गरेको बताएका छन् । सरकारले सिंगो मुलुक लकडाउन गरेको र आफै सभा सम्मेलन तथा भीडभाड नगर्न निर्देशन गरेका बेला मन्त्रीबाटै त्यसको उलल्लंघन हुनु कानुन विपरीत रहेको कानुनविद दिनेश त्रिपाठीले बताउनुभयो । उहाँले कानुन सबैका लागि बराबर भएकोले यसको उल्लंघन गर्नेलाई कारबाही हुनुपर्ने बताउनभुयो ।
अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ४२ मिनेट सनसिटीमा बसेको खुलासा (भिडियोसहित)
कोरोना भाइरसका दुईजना संक्रमित भेटिएको सनसिटी अर्पाटमेन्टमा ११ चैत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा पुगेको खुलेको छ । उनी पुगेको रेकर्ड सनसिटीको लोकेन्द्र केसीले राखेका थिए ।
अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ५:१३ मा प्रवेश भएको र ५:५५ मा निस्केका थिए । उनको बा २ झ ३७३३ नम्बरको झण्डावाला गाडी थियो भन्ने पुष्टि भएको छ । तर, अर्थमन्त्रीले प्रेय संयोजकमार्फत् आफू नगएको दाबी गर्दै आएका छन् । अर्पान्टमेन्टको कमिटिका सदस्य पुष्कर रेग्मीले मन्त्री खतिवडा त्यहाँ ११ चैत्रमा पुगेको पुष्टि गरेका थिए । ८ चैत्रमा त्यहाँ कमिटिको चुनाव भएको थियो । उनले भने, ‘चुनाव भएको दिन उहाँ आउनुभएको थिएन ।’ उनले थपे, ‘११ चैत्रमा उहाँ आउनुभएको हो ।’ अर्थमन्त्री खतिवडाको दुई देखि तीनसम्मको अर्पाटमेन्ट रहेको जानकारी दिए ।
कोरोना भाइरसको संक्रमित भेटिएका अर्पान्टमेन्टमा अर्थमन्त्री खतिवडा पुगेपछि पनि उनी मन्त्रिपरिषद बैठकमा नियमित सहभागी हुँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् । मन्त्री क्वार्टर पुलचोकमा खतिवडा बस्छन् । मन्त्री खतिवडा छोरा तिलक खतिवडा र परिवारलाई भेट्न पुगेका थिए । केसीले खतिवडा छोरा भेट्न आएको सत्य हो भने । खतिवडाले पनि टेष्ट गराउनुपर्ने जरुरी भएको बताए ।
कोरोना भाइरस संक्रमित भेटिएपछि सनसिटी अहिले शिल्ड गरिएको छ । उक्त क्षेत्रमा सम्पर्कमा पुगेकाहरुको खोजी भइरहेको छ । खोजीका क्रममा मन्त्री खतिवडा पुगेको रेकर्ड भेटिएपछि उनी ढाँट्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले टेष्टको दायरा बढाइरहेको छ । सम्पर्कमा पुगेकाहरुको पनि टेष्ट र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ ।
हेर्नुहोस भिडियो
यता अर्थमन्त्री युवराज खतिवडाले संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको विषय लुकाउन खोजेकै बेला स्वास्थ्य मन्त्रालयले भने यस्ता किसिमका सूचना लुकाएर नराख्न सबैलाई आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डले यस्ता सूचना लुकाएर राखे व्यक्ति परिवार समाज र राष्ट्रकै लागि कठिन हुने बताउनुभयो ।
विश्वका विभिन्न मुलुकका मन्त्रीहरुले लकडाउनको सामान्य उल्लंघन गरेको विषयमा प्रश्न उठेपछि राजीनामा दिएको खबर हालै मात्र सार्वजनिक भएको छ । तर नेपालमा लकडाउन जारी रहेका बेला मन्त्रीबाटै त्यसको गम्भीर उल्लंघन हुनु र सिंगो मन्त्रिपरिषद् नै जोखिमको आशंकामा रहने कार्य हुँदा समेत संलग्न मन्त्रीको कुनै जवाफ आएको छैन ।