
काठमाडौं । पर्सामा भेटिएका तीन जना कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यलय पर्साले निकालेको विज्ञप्तीमा संक्रमित व्यक्तिहरु २०१९ डिसेम्बर १७ मा भारतको राजधानी दिल्लीबाट रेलमार्फत विराटनगर आएको र डिसेम्बर १८ र १९ मा उनीहरु विराटनगरस्थित रानी मस्जिदमा बसेको जनाइएको छ ।
त्यस यता उनीहरु सुनसरीको दुहबीमा ११ दिन, सुनसरीको इनरवा क्षेत्रमा दुई साता, करिब एक महिना वीरगंजका विभिन्न मस्जिदमा बसेको पाइएको पनि उक्त विवरणमा उल्लेख छ । तर उनीहरु त्यसबीचमा भारत फर्किएको र फेरि उताबाट नेपाल आएको विवरण भने देखिँदैन ।
डिसेम्बरमा नेपाल प्रवेश गरेका उनीहरु त्यतिबेला नै संक्रमित भएर आएका थिए वा नेपालका विभिन्न मस्जिदमा घुम्ने, बस्ने तथा विविध कार्यक्रममा सहभागी हुने क्रममा उनीहरु कसैबाट संक्रमित भए ? जिल्ला प्रशासन कार्यालय पर्साको विवरणमा यो प्रश्नको सटिक उत्तर भेटिँदैन ।
जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमितहरुकै भनाइ अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ विवरण तयार पारिएको जनाए ।
‘उनीहरु डिसेम्बरमा नेपाल आएको र त्यसपछि नेपालकै विभिन्न जिल्लामा रहेका मस्जिदमा बसेको, विभिन्न कार्यक्रममा सहभागी भएको विवरण हामीले उनीहरुले नै दिएको जानकारीअनुसार तयार पारेका हौँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘डिसेम्बरमै आउँदा उनीहरु संक्रमित थिए भन्ने त होइन तर यसबीचमा उनीहरु कसरी संक्रमित भए भन्नेमा हामी पनि प्रष्ट हुन सकिरहेका छैनौँ ।’
उनीहरु नेपालमै रहँदा भारतबाट पछिल्लो समय आएका अन्य व्यक्तिबाट संक्रमित भएको पनि हुन सक्ने र उनीहरु नै यसबीचमा भारत गएर संक्रमित भएको तथा यसरी भारत गएको कुरा उनीहरुले लुकाएको पनि हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको आशंका छ ।