संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना रोकथामका लागि स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा मंलबार साँझ सम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ जम्मा भएको छ।
सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा नेपाल आयल निगमले ५० करोड जम्मा गरेको छ। त्यस्तै विभिन्न कार्यलय र व्यक्तिहरुबाट कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ।
हिमानी कोषले सोमबार २ करोड रुपैया जम्मा गरेको थियो ।
मंगलबार हिमालय एयरलाइन्सले १ करोड जम्मा गरेको छ।
त्यस्तै मंगलबारकै दिन सनलाईफ इन्सोरेन्सले ३० लाख १ हजार रुपैया कोषमा जम्मा गरेको छ। नेशनल माइक्रो फाइनानान्सले १० लाख रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। कोषमा १ लाख भन्दा कम रकम जम्मा गर्ने र नाम नखुलेका विभिन्न व्यक्तिहरुले १ करोड ३८ लाख रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। .
प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोना मुक्त नहुन्जेलसम्म आफूले तलब नलिने घोषणा गरेका छन्। त्यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले २ महिनाको आफ्नो तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।