
सरकारले चैत्र महिनाको घरभाडा छुट नदिने घरबेटीहरुलाई कडा कदम चाल्ने तयारी गरेको छ । चैत्र महिनाको अन्तिम साताबाट सरकारी अधिकारीहरुबिच यसबारेमा परामर्श हुन थालेको हो । शहरी क्षेत्रमा घर हुनेहरुले आफ्नो घरमा बहालमा बसेका मजदुर तथा सर्बसाधारणलाई एक महिनाको बहाल छुट दिदा उनीहरुमा कुनै प्रकारको आर्थिक समस्या नहुने सरकारी अधिकारीहरुको भनाई छ ।
मुलुकलाई गम्भीर संकट परेको बेला उपत्यकाका घरबेटीहरुले एक महिनाको भाडा छुट दिएर सरकारलाई सहयोग गर्नुपर्ने सरकारको भनाई छ । गएको चैत्र १६ गते बसेको मन्त्रीपरिषदको बैठकले चैत्र महिनाको बहाल छुट दिन सबैमा सार्बजनिक रुपमा आग्रह गरिसकेको छ । राष्टिय संकटको यो बेला बहाल छुट दिएर सरकारलाई सहयोग गर्न मन्त्री परिषदले भनेको थियो । यो बेला सर्बसाधारणलाई आर्थिकरुपले संरक्षण गर्न सरकारलाई ठूलो दबाब छ ।
आर्थिक क्रियाकलाप ठप्प भएर सर्बसाधारणको आम्दानीको स्रोत बन्द भएपछि सरकारले केही राहत हुने ठहर गरी एक महिनाको भाडा छुट गर्न सम्बन्धित सबै घरवालाहरुलाई भनेको थियो । सरकारको यो निर्णयलाई कतिपय बहाल लिने घरवालाहरुले सहर्ष स्वीकार गरे पनि ठूलो संख्याका घरबेटीहरुले भने वेवास्ता गरिरहेका छन ।
संकटको यो घडीमा सरकारलाई नटेर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । जबर्जस्ती भाडा लिनेहरुको लगत संकलन गरेर कारबाही गर्ने बताइएको छ । यसको लागि घर भाडामा बस्नेहरुलाई सम्बन्धित सरकारी कार्यालयमा सूचना गर्न पनि आग्रह गर्ने तयारी छ । सूचना दिनेहरुको सबै कुरा गोप्य राखिने जनाइएको छ ।
सरकारलाई नटेर्नेहरुलाई कर छलीमा कारबाही गर्न सकिने अधिकारीहरुले बताएका छन् । सदरमुकाम क्षेत्रमा घरधनीहरुले बहाल लगाएर बर्षमा लाखौं रकम लिने गर्छन । घरभाडा उनीहरुको आम्दानीको मूल स्रोत नै हुने गरेको छ । तर अधिकांशले बहाल कर बुझाउने गरेका छैनन् ।