
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ।
उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनाको यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए।
धुलिखेल नपा-७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ।’ उनलाई घरमा छुट्टै बस्न लगाइएको छ।