
२ वैशाख, काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै १८ वैशाखसम्म हवाइ उडानसमेत स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।
अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ ।
विरगन्जमा थप कडाइ
यसैगरी, वीरगञ्जमा लकडाउन अझ कडाई गरिने भएको छ । मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगञ्ज क्षेत्रमा कडाई गरिएको छ । प्रदेश २ को वीरगञ्ज लगायत मुख्य इलाकामा कफर्यु लगाउने सम्मको तयारी भएको बुझिएको छ । राजपा नेता राजेन्द्र महतोले वीरगञ्जमा कफर्यु लगाउनुपर्ने बताइसकेका छन् ।
भारतमा लकडाउनको अवधि तीन हप्ता थपियो
भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।
भारतमा दिनानुदिन संक्रमण हुनेको संख्या बढ्न थालेपछि भारतले लकडाउनको अवधी लम्बाएको हो । वितेको २४ घन्टामा भारतमा १२ सय ५० भन्दा बढी मानिसहरुमा संक्रमण भेटिएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संङख्या १० हजार ४ सय ५३ पुगेको छ। कोरोनाकै कारण हालसम्म भारतमा ३ सय ५८ जनाले ज्यान गुमाएका छन्।