
अहिले विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनेको छ । सानो देश या ठूलो देश नभनिकनै सबै देशहरुमा फैलिसकेको छ । अझ भनौ यस्ले विश्वमा नै महामारी मच्चाईरहेको छ । एक महिना अघिमात्र कोरोना भाइरस भारतमा भेटिएको समाचार आयो । खुल्ला सीमा नाका भएकोले नेपालमा पनि भित्रिन्छ कि भनेर धेरैले लख काटे भने केहीले त्यहाँ रहेका नेपालीहरुको बारेमा चिन्ता व्यक्त्त गर्न थाले ।
अछाम घर भएका चेतमान खड्का परिवार सहित मुम्बइमा बस्दै आएका छन् । उनको भाइलाई केही समय अगाडी देखि हल्का ज्वरो देखियो । उनीहरुले सामान्य ज्वरो ठानेर औषधी दिए । केहि गर्दा पनि ज्वरो निको नभएपछि उनीहरुले आफ्नो नीजि चिकित्सकलाई देखाउने निधो गरेर त्यहाँ पुगे । त्यहाँ पनि सामान्य ज्वरो हो निको हुन्छ भनेर फर्किनु पर्यो । त्यसपछि पनि २-३ वटा अस्पताल गयौ सबैतिर नर्मल रिपोर्ट आयो । चेतमानले कोरोना भाइरसको बारेमा सुनेका थिए र त्यसको बारेमा सचेत पनि थिए । त्यसैले उनले दह्रो मन बनाएर कोरोना टेष्ट गराउने निधो गरे । आफ्नो नीजि चिकित्सक सँग सल्लाह गरेर उस्लाई रिलायन्स हस्पिटल लग्यौ त्यहाँ उस्को नतिजा पोजेटिभ आयो र कस्तुबा मा लगेर भर्ती गरायो ।
कोरोना सरुवा रोग भनेर थाहा भएकोले भाईको नतिजासँगै खड्का परिवारमा बज्रपात पर्यो । भाइसहित गरेर ११ जनाको परिवार भएकोले अन्य १० जनामा पनि संक्रमण देखिने डर भयो । खड्का आफै सबै परिवार लिएर टेष्ट गर्न अस्पताल पुगे । त्यहाँ अन्य ७ जनाको नतिजा पनि पोजेटिभ आयो । ३ जनामा भने नेगेटिभ देखियो । उनको घरमा सिल गरियो । नेगेटिभ रिपोर्ट आएका ३ जनालाई छुटाछुटै स्थानमा राखिएको छ । पढाइ गर्दै गरेका छोराछोरी र भतिजा भतिजीमा पनि कोरोनाको संक्रमण देखिएपछि खड्का निराश बनेका छन् ।
उनीहरुलाई बेग्ला बेग्लै अस्पतालमा राखिएको छ । पापा हामीलाई खानामा तकलिप छ, डा. ले दिनमा एकपटक टाढैबाट कुरा गर्छन् भनेर छोरीले वाट्सएपमा फोन गर्दा खड्काको मन कुडिन्छ । उनको छोरीलाई सेभेन हिल अस्पतालको ८ औं तलामा राखिएको छ । सँगै नभए नि फोनको माध्यमबाट एकले अर्कालाई आश्वसन दिइरहन्छन् । आज १४ दिन भयो उनीहरु अस्पतामा रहेको तर निको भएको छैन् । उनीहरु जतिसक्दो चाँडो निको भएर घर जान चाहन्छन् ।
घरमा रहेका ८ जना समस्यमा कोरोना संक्रमण भएर बेग्ला बेग्लै अस्पतालमा उपचार गराइरहेका खड्का यस्तो पीडा अरुले खप्नु नपरोस भन्छन् । अप्रिल ९ गते उनले फेसबुकमा मार्मिक स्टाटस लेख्दै आफुहरु कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
उनले लेखेका छन् , “आज पुरा १० दिन भो हस्पिटलको कष्ट र परिवार छोराछोरी भाई भतिजा को विचल्ली भएको सहन गर्दा गर्दा मलाई यस्तो लागिरहेको छ कि यो १० दिन काट्नु पनि १० वर्ष जस्तो लागीरहेको छ । के गर्नु दैबको खेल विश्वव्यापी मारामारी ले गर्दा आफूले पनि यो मारामारी भोग्नुपरेको छ । र हामी सम्पूर्ण परिवार चिन्तित छौं र हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थान बाट बाहिर नं निस्कनु होला आफ्नो सुरक्षा आफै गर्नुहोला जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला नभए मेरो जस्तो पिडा भोग्न पर्ला आफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खबर जगनाथ कि जय ।”
उनको यो स्टाटसबाट हामीले पनि शिक्षा लिनु जरुरी छ । अस्पतालको बेडमा कोरोनासँग लडिरहँदा पनि उनलाई नेपाल र नेपालीको चिन्ता छ । सबैलाई घरमा बस्न र आफ्नो ख्याल गर्न सुझाव दिइरहेका छन् । खड्का लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका हुन् । आफू संक्रमित भएपनि अरु कसैलाई यस्तो नहोस भन्ने चाहन्छन् खड्का । उनले हात जोड्दै अन्त्यमा भने, स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरु लकडाउनको पालना गर्नुहोस । आफु पनि बचौं र अरुलाई पनि बचाउ !!