काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हिमाली र पहाडी क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई सिमा क्षेत्रमा खटाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अत्यावश्यक बाहेकका सुरक्षाकर्मीलाई तुरुन्त नेपाल भारत सिमामा खटाउन निर्देशन दिएका हुन् ।जवाफमा महानिरीक्षक खनालले भोली सवै विवरण संकलन गरेर तुरुन्त सिमामा खटाउने बताएका छन् ।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्लामा खटिएका सशस्त्र प्रहरीको जनशक्तिलाई सिमा क्षेत्रमा खटाउन निर्देशन दिएको बताए ।
गृहमन्त्री थापाले नियमविपरित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता बोलाउन निर्देशन दिएका छन् ।
गत विहिवार नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर नियमविपरित खटाइएकालाई तुरुन्त फिर्ता बोलाएर सिमा क्षेत्रमा तैनाथ गर्न निर्देशन दिएका हुन् ।
‘मापदण्ड विपरित खटिएका सुरक्षाकर्मीहरु तत्काल फिर्ता पठाउन गृहमन्त्रीज्युले निर्देशन दिनुभएको छ । मन्त्रिपरिषदले पुर्व विशिष्टलाई दिने प्रस्ताव पनि मन्त्रिपरिषदबाटै खारेज गर्ने प्रस्ताव अघि बढेको छ ।’ मन्त्री थापाका प्रेस संयोजक भट्टराईले भने ।
गृहमन्त्रीको निर्देशनपछि दुवै सुरक्षा निकायले नियमविपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन गर्न सुरु गरिसकेको छ । दुवै सुरक्षा निकायबाट तीन हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपयले मन्त्रिपरिषबाटै निर्णय गराएर सुरक्षाकर्मी लिइरहेका छन् । उनिहरुको सुविधा पनि फिर्ता गर्ने सरकारको तयारी छ ।
गृहमन्त्री थापाले सिमा क्षेत्रमा समेत सर्तकता अपनाउन निर्देशन दिएका छन् । विरगंजमा तीन जना भारतिय नागरीकमा कोरोनाको संक्रमण देखिएपछि मन्त्री थापाले तराईमा सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि सशस्त्र र नेपाल प्रहरीले तराईका जिल्लाहरुमा थप सुरक्षाकर्मी पठाउने तयारी गरेका छन् ।