
काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।“त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।”अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ ।
पोखरेलका अनुसार उक्त तीनजनाको परिवार बेलायतबाट आएको थाहा भएको छ ।र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।उनले भने “परिवारका तीनजनालाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”