
काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दुई जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्। पछिल्लो समय कैलालीको लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिला र रौतहटका एक १९ वर्षीय युवामा संक्रमण देखिएको हो।
लम्कीकी महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन्। उनीसँगै अन्य १७ जना पनि बसमा गएका थिए। उनलाई लम्की चुहामा क्वारेन्टाइनमा राखिएको थियो। तर रिपोर्ट नआउँदै घर पठाएपछि उनी अन्य मानिसको सम्पर्कमा समेत गएको स्थानीयहरु बताउँछन्।
संक्रमण पुष्टि हुनुअघि उनी समूहमा बाख्रा चराउन जंगल गएको र क्वारेन्टाइनबाट छुटेको खुसीयालीमा आफन्त र साथीभाइसँग अंकमाल समेत गरेको त्यहाँका स्थानीय बताउँछन्।
यसले उनको सम्पर्कमा आएकाहरुलाई पनि संक्रमणको जोखिम बढेको छ।
त्यस्तै आजै संक्रमण पुष्टि भएका रौतहटका युवा पनि क्वारेन्टाइनमा रहेको र अब उनलाइ अस्पताल लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ। इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ।
नगरपालिका वडा नम्बर ५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए।
वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए।