
रौतहटमा सोमबार एक जना १९ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ।
‘खुला सीमाना भएकाले उनी चैत १७ गते नेपाल आएका थिए। घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए,’ रौतहट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने।
इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमित युवालाई अस्पताल पठाउने तयारी भइरहेको छ।
आजै कैलालीको लम्कीचुहा नगरपालिकामा वीरगन्जबाट गएकी एक जना ६५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये १३ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन्।