
रासस । १ बैशाख २०७७ । बाग्लुङ :
सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट हेलिकोप्टरबाट उद्धार गरेर पोखरा स्थित गण्डकी अस्पतालमा पुर्याइएको छ ।
आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो ।
ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी पाण्डेलाई स्वास्थ्य केन्द्रले पोखरा रेफर गरेको थियो । बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पुर्याएको थियो । परिसरबाटै उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताए ।
उहाँलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिए । पाण्डेका यसअघि पनि दुई सन्तान छन् । “अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ”, अध्यक्ष पाइजाले भने, “मन्त्रीज्यूले तत्काल प्रभुको हेलिकप्टर पठाउनुभयो उहाँ पनि अस्पताल पुग्नुभएको छ ।”
स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले पोखरा पठाइएको थियो ।