काठमाडौं । आज नयाँ वर्ष २०७७ को पहिलो दिन । कोरोना भाइरसका कारण सम्पूर्ण नेपाली जनता घरमै लकडाउनमा छन् । प्रमुख राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले घरबाटै सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिइरहेका छन् । सबैको शुभकामना सन्देश कोरोनाबाट बच्न सकियोस् भन्ने छ ।
यसैक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार नयाँ वर्षको शुभकामना सन्देश दिए । उनले सन्देशमा घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरे । उनी आफैं पनि लकडाउन घोषणा भएको दिनदेखि ललितपुरको खुमलटारस्थित घरमै बसेका छन् ।
नयाँ वर्षको दिन छोरीज्वाइँसँगै बसेर प्रचण्डले मासु पकाइरहेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा प्रचण्डले मासु चलाइरहेका छन् । आँगनमा दाउरा बालेर मासु पकाउने बेला छोरी गंगा र ज्वाइँ जीवन आचार्य साथमै छन् । प्रचण्डले घरभित्र नभई बाहिरै मासु किन पकाए होलान् भन्ने चासो देखिएको छ । प्रचण्ड पत्नी सीता दाहाल माछामासु नखाने भएकाले पनि बाहिरै पकाएको हुन सक्ने बताइएको छ ।
केही समयअगाडी प्रचण्डले साइकल कुदाउँदै गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । प्रचण्डका ज्वाइ जीवन आचार्यले फेसबुकबाट उक्त भिडियो सार्वजनिक गर्दै लेखेका थिए । ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले ईम्युनिटी पावर बढाइ कोरोनाविरुद्ध लड्न मद्दत पुर्याउँछ,’ ।