
एजेन्सी । ३० चैत, गुवाहटी (भारत):
भारतमा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिले अस्पतालमै आत्महत्या गरेका छन्।
कोरोना फैलिएको दिल्लीको धार्मिक सभामा सहभागी भएका कारण संक्रमित भएका व्यक्तिले अस्पतालमै आत्महत्या गरेका हुन्। भारतको आसामस्थित नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन्।
कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएपछि उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो। आफूमा कोरोना संक्रमण पुष्टी भएको भोलिपल्टै अर्थात शनिबार उनले अस्पतालमै आत्महत्या गरेका हुन्। यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए।