
३० चैत । सुनसरी (इनरुवा) : सुनसरी प्रहरीले लकडाउनको समयमा अटेर गरी बजार निस्कनेलाई धमाधम पक्राउ गर्न थालेको छ । सुनसरीमा आज विहानको समयमा ३ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले सदरमुकाम इनरुवाबाट १८ जनालाई पक्राउ गरेको छ । अन्यलाई जिल्लाका विभिन्न बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मर्निङ वाकमा निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधि खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई समेत नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले अत्यावश्क अवस्थामा मात्रै घर बाहिर निस्कन भनेपनि वहानाबाजी गर्ने क्रम बढेकाले चेकजाँचसँगै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालिएको जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले नियन्त्रणमा लिइएकाहरुलाई साँझ मात्र छाड्ने गरेको छ । नियन्त्रणमा लिइएकाहरुलाई कोरोना सचेतना कक्षा लिएर दिनभर राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक जयदेव माझीले जानकारी दिनुभयो ।
प्रहरीले ७१ वटा सवारीका साधन समेत सुनसरीबाट नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा गुडाईरहेका सवारीका साधन भने प्रहरीले लकडाउन अवधिभर फिर्ता नदिइने जनाएको छ । प्रहरीको कडाईसँगै जिल्लामा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कनेको संख्यामा कमी आएको छ ।