
३० चैत, काठमाडौँ । विश्व अहिले कोरोना भाइरस महामारीको संकटबाट गुज्रिरहेको यो विकराल अवस्थामा संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यस विरूद्धको मोर्चामा खटिएका छन् ।
नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ । नेपालमा संक्रमण रोकथामको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत सरकार स्वयम यस विषयमा निकै नै संयम बनिरहेको छ ।
नेपाली जनतालाई कोरोना संक्रमण हुन नदिन र दैनीक जीवन सहज बनाउन अग्रमोर्चामा खटिएकाहरूको हौसला बढाउन नयाँ वर्ष वैशाख १ गते अर्थात भोली सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएको छ । युएन ग्लोबल कम्प्याक्ट नेपालले सोमबार बिहान ८ बजे आ आफ्नो घरको कौसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील गरेको छ ।
कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामको अग्रमोर्चामा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, इमरजेन्सी सेवाका कर्मचारी, सप्लाइमा खटिएका कामदार, सफाइकर्मी लगायतको समर्थनमा ऐक्यबद्धता जाहेर गर्न यो अभियान देशभरि एकैसाथ लागु गर्न कम्प्याक्ट नेपालले आह्वान गरेको छ । सो समय एफएमहरूबाट समेत राष्ट्रय गान प्रसारण हुने जनाइएको छ ।