
हलिउड : हाल विश्वभर महामारी बनिरहेको कोरोना भाइरसबारे कविता रच्ने, गीत बनाएर अपलोड गर्ने स्रष्टा बढेका छन्। फिल्म सुटिङको सबै कार्यक्रम ठप्प रहेको बेला क्यानडाका निर्देशक मोस्तफा केसवानीले भने कोरोनाबारे फिल्म नै बनाएका छन्।
केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) फिल्म निर्माण गरेका हुन्। त्यसो त यो फिल्म गत फेब्रुअरीको दोस्रो सातामा नै छायांकन गरिएको थियो। सम्पादन सकिएको यो फिल्म चाँडै प्रदर्शनमा आउने निर्देशकले जनाएका छन्।
लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा आधारित उक्त फिल्ममा तीमध्ये एकजनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ। कोरोना भाइरसबारे बनेको यो नै पहिलो फिल्म भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकासँगै जोडिएको क्यानडामा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ।