३० चैत । दार्जिलिङ्ग(भारत) : कोरोना संक्रमितको उपचारमा संलग्न दार्जिलिङका एक चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ।
उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलका एक चिकित्सकमा संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको छ। मंगलबारदेखि बिरामी परेका उनको स्वाबको नमूना परीक्षण गरिएको थियो। बुधबार उनको रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ।
दुई साताअघि कोरोना भाइरसका कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाका उपचारका लागि यी चिकित्सक अग्रभागमा खटिएका थिए।
महिलाकै सम्पर्कमा आएको कारण उनी कोरोना संक्रमित बनेको बताइएको छ। अहिले उनको स्वास्थ्यअवस्था स्थिर रहेको उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटल स्रोतले जनाएको हो।
अस्पतालले परिवारलगायत उनका सम्पर्कमा आउने अन्य मानिसहरूलाई पनि क्वारेन्टाइनमा बस्ने आग्रह गरेको छ। दुई दिनअघि मात्र उक्त अस्पतालमा कार्यरत एक नर्स पनि कोरोनाबाट संक्रमित रहेको पुष्टि भएको थियो।
ती नर्सलाई सिलगढ़ीको मतिगढ़ामा रहेको प्राइभेट कोभिड १९ अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अहिले स्थिर रहेको बताइएको छ।
कोरोना भाइरसबाट मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारका लागि खटिएको मेडिकल टिममा यी नर्स पनि सहभागी भएकी थिइन्।(नेपालखबरबाट)