
२९ चैत बाँके : चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेपछि सबैभन्दा बिजोग मजदुरको भएको छ। दैनिक ज्यालामा काम नगरी छाक टार्नै नसक्ने अवस्थाका मजदुरले अहिले धमाधम काठमाडौं छाडिरहेका छन्।
लकडाउनका कारण गरिखाने वर्गका श्रमिकहरु काठमाडौंदेखि मेची-महाकालीसम्मको यात्रा पैदल नै नापिरहेका छन्। काठमाडौंमा श्रम गरेर बाँचिरहेका यस्तै मजदुरमध्येका केही युवा पैदलै हिँडेर नेपालगञ्ज पुगेका छन्। बर्दियाका ती युवाहरुले कठिन पैदल यात्रा छिचोल्दै नेपालगञ्जसम्मको यात्रा तय गरिसकेका छन्।
सरकारले शुक्रबार र शनिबार लकडाउनकै समयमा काठमाडौंबाट बाहिर जानेलाई गाडी खुलाइदिने भनेको थियो। तर निर्णयको मसी नसुक्दै सरकारको निर्णय अलपत्र पर्यो। सरकारले घर पठाउन गाडी खोलिदिने आशमा खुसी भएका मजदुर अहिले पाइला नाप्दै घर फर्किँदैछन्।
चार दिनमा नेपालगञ्ज
काठमाडौंबाट नेपालगन्ज पुग्न बर्दियाको राजापुर नगरपालिका-५ जयपुरका कृपाराम थारुसहित १४ जनालाई चार दिन लाग्यो। घर बनाउने मिस्त्रीको काम गर्न काठमाडौं गएका बेला लकडाउन भएपछि उनी साथीसहित काठमाडौंमा नै थुनिए।
लकडाउन भएपछि सरकारले यातायात ठप्प बनायो भने अर्कातिर ठेकेदार उनीहरुको पारिश्रमिकसमेत दिएन। काम गरेबापतको ज्याला ठेकेदारले नदिएपछि उनीहरु अनेक हण्डर खाँदै काठमाडौंबाट पैदल नै घरतर्फ लागे। ‘लकडाउन हुन लागेको छ भन्ने पूर्वसूचना पाए पनि ठेकेदारले मजदुरी बापतको पैसा नदिँदा समयमा घर फर्किन पाएनौँ,’ उनले भने।
उनीसँगै आएका राजापुर नगरपालिका-१७ टपराका जगलाल थारु पनि चार दिन लगाएर काठमाडौंबाट नेपालगन्ज आइपुगेका हुन्। भक्तपुरको दुवाकोटमा घर बनाउने काम गर्ने उनी पनि लकडाउनका कारण दुई हप्ता काठमाडौंमा थुनिएका थिए। कमाएको रुपैयाँ पनि सकिन थालेपछि उनीहरुले हिँडेरै घर पुग्ने अठोट लिए। उनी २५ चैतमा दुवाकोटबाट पानी पोखरीका लागि हिँडे। उनलाई पानी पोखरी पुग्न एक दिन लाग्यो। त्यसपछि साथीभाइसँग मिलेर उनी हिँडेरै थानकोट पुगे।
थानकोटका प्रहरीले प्रतिब्यक्ति पाँचसय रुपैयाँ भाडा तिर्ने गरी नारायणगढसम्मका लागि ट्रकको व्यवस्था गरिदिए। उनीसँगै ट्रकमा ३०/३५ जना थिए। ‘ट्रकमा चढ्न पाउँदा खुशीको सीमा भएन। तर खुशी धेरैबेर टिकेन, नारायणगढ आएपछि नेपालगन्ज पुग्ने चिन्ता लाग्न थाल्यो,’ उनले भने। नारायणगढका नगर प्रमुखलगायत जनप्रतिनिधि, प्रहरी र सर्वसाधारणले पानी, खाना, खाजा खुवाएपछि केही राहत मिलेको उनले बताए।
नारायणगढदेखि लमहीसम्मको सडकमा पानी, नास्ता खुवाउने र सवारी साधनको ब्यवस्था गरेर सहयोग गर्ने प्रशस्तै भेटेको बताए। ‘नारायणगढका मेयर र प्रहरीले खाना खुवाएर स्कुल बसमा बुटवलसम्म आउने ब्यवस्था मिलाइदिएपछि केही राहत मिल्यो,’ उनले भने। बुटवलमा उनको टोलीलाई ट्राफिक प्रहरीले साथ दिए। प्रहरीले नेपालगन्ज आउने ट्रकको ब्यवस्था गरिदियो। उनीहरूको समूहमा बुटवलबाट थप नौजना थपिए। त्यसपछि उनीहरूको समूह २३ जनाको भयो। ‘प्रहरीसँग नेपालगन्जसम्म प्रतिब्यक्ति पाँचसय रुपैयाँ भाडा लिन्छु भनेको ट्रकले कोहलपुर चौराहबाट दुई किलोमिटर पूर्व रोहिणी खोलामा ल्याएर अलपत्र पार्यो,’ राजापुर नगरपालिका ७, लालचीपुरका सुनिल चौधरीले भने।
चप्परगौडीबाट १८ किलोमिटर दूरी हिँडेर उनीहरू शनिबार विहान ११ बजे नेपालगन्ज आइपुगे। सबैतिर पसल र होटल बन्द भएकोले उनीहरूले चारदिनसम्म राम्रोसँग खान र सुत्न पाएन्। तैपनि उनीहरूले हिम्मत हारेका छैनन्। हिँडेर गोडाको पैतालामा फोका परेका छन्। खुट्टा सुन्निएको छ। काठमाडौंबाट कुनै बेला ट्रक र बसमा चढे पनि नेपालगन्ज पुग्दासम्म दुईसय किलोमिटर हिँडेको सोही समूहका राजापुर नगरपालिका-३, बर्गड्डीका चन्द्रबहादुर थारुले बताए। ‘जिन्दगीमा पहिलो पटक यस्तो दुःख पाइयो,’ उनले भने, ‘बाँचेपछि धेरै चिज देख्न र भोग्न पाइँदो रहेछ।’
कोहलपुरको चप्परगौडी पुगेपछि खुशीको अनुभूति भएको त्यही समूहमा काठमाडौंबाट आएका राजापुर नगरपालिका-५, जयपुरका मनवीर चौधरीले बताए। तर, आफ्नै ठाउँमा आए पनि कसैले पानीसमेत नदिँदा दुःख लागेको उनले बताए। ‘बुटवल, बर्दघाट, गैँडाकोट, नारायणगढमा पर्ने राजमार्गमा पानी, नास्ता, भात खुवाउनेको लाइन हुन्थ्यो। तर हाम्रो यहाँ न त प्रहरीले सोध्छ। न त सामाजिक संघसंस्था र धार्मिक संस्थाले नै वास्ता गरे,’ उनले भने, ‘आफ्नो ठाउँमा राहत मिल्ला भनेको झन उल्टो भयो।’ थानकोटबाट प्रहरी, जनप्रतिनिधिलगायतको सहयोगबाट कोहलपुरसम्म पुगेका उनीहरू दिनभर नेपालगन्जमा अलपत्र परे।
रुखका छहारीमा बसेर गाडीको पर्खाइमा बसेका उनीहरूले राजापुर नगरपालिकाका मेयर शिवबहादुर चौधरीलाई गाडीको ब्यवस्था गरिदिन फोनमार्फत आग्रह गरे। मेयरले खाद्यान्न लिन नेपालगन्ज आएको टिपरमा ल्याउने ब्यवस्था मिलाएको आश्वासन दिएपछि झिनो राहत उनीहरूलाई मिल्यो। तर, टिपरमा कति जना अट्ने हो भन्ने चिन्ता उनीहरूमा छँदै थियो। ‘लकडाउनले पाउनसम्म दुःख पाइयो’, मनवीरले भने, ‘यस्तो दुःख दुष्मनले समेत नपाओस्। आफूले गरेको निर्णयबाट सरकार पछि हट्दा दु:ख पाएको मजदुरको भनाई छ। काठमाडौंबाट बाहिर जान दुई दिनका लागि यातायात सेवा खुल्ला गरिएको सूचना पाएलगत्तै डेराबाट निस्किएको कृपारामले बताए।
थाहाखबर डटकमबाट साभार गरिएको ।