
ब्रिटेनका एक व्यापारी श्रीमतीलाई झुट बोलेर प्रेमिकासँग इटाली ट्रिपमा गएका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ । यद्यपि उनलाई कोरोना भाइरसको संक्रमणले भन्दा पनि श्रीमतीले आफू प्रेमिकासँग इटाली घुम्न गएको पत्ता पाउने हुन् कि भन्ने चिन्ता बढी छ ।
इटाली जानुपूर्व उनले आफ्नी श्रीमतीलाई आफू बिजनेस ट्रिपमा गएको बताएका थिए । ट्रिपबाट फर्किएपछि उनी कोरोना भाइरस संक्रमित भएको पाइयो तर पनि उनले झुट बोल्न छोडेनन् । उनले श्रीमतीलाई बिजनेस ट्रिपका क्रममा कोरोना भाइरसको शिकार भएको बताए । उनको झुटले श्रीमतीका अघि त काम गर्यो तर चिकित्सकका अघि टिकेन ।
ती व्यापारीका नजिक एक व्यक्तिले बताएअनुसार चिकित्सकहरूले उनको यात्रा इतिहासबारे सोध्दा उनले इटालीमा गएको र त्यहीँबाट आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताए । तर, उनले प्रेमिकाका बारेमा जिकिर गरेनन्, जोसँग आफू ट्रिपमा गएका थिए । चिकित्सकहरूलाई आफू प्रेमिकासँग इटाली गएको बताउँदा श्रीमतीलाई भनिदिने हुन् कि भन्ने डर थियो । साथै, चिकित्सकहरूले एयरलाइन्स कम्पनीसमक्ष पुगेर पत्ता लगाए भने प्रेमिकासँग इटाली घुमेको पोल खुल्ने अर्को डर थियो ।
चिकित्सकहरूलाई भने उनी इटाली ट्रिपका क्रममा को-कोसँग सम्पर्क रह्याे भन्ने थाहा पाउनु जरुरी थियो । डाक्टरहरूले उनीहरूमा पनि कोरोना संक्रमण फैलिएको छैन भन्ने जान्नु थियो । अहिले उनी दोहाेरो चिन्तामा छन् । एक त उनी कोरोना भाइरसबाट पीडित छन्, अर्कोतर्फ श्रीमतीले सत्य थाहा पाइन् भने के होला भन्ने चिन्ता छ । अहिले उनकी श्रीमती सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसनमा छन् ।