
एक साता यता इलाममा विदेशबाट भित्रिनेको सङ्ख्या १४० पुगेको छ । भारत तथा तेस्रो मुलुकबाट अध्ययन, घुमफिर र रोजगारीका क्रममा बाहिर गएकाहरु जिल्ला फर्केका हुन् ।
कोरोना भाइरस सङ्क्रमण बढ्ने र बढाउने विदेशबाट आउनेबाट नै भएकाले बाहिरबाट आउनेको तथ्याङ्क लिने गरिएको हो । इलामका १० स्थानीय तहमध्ये माइ नगरपालिकाले भने तथ्याङ्क लिइरहेको छ । अन्य सबै स्थानीय तहले तथ्याङ्क लिइसकेका छन् । प्रत्येक वडामा रहेका जनप्रतिनिधि, शिक्षक तथा स्थानीयवासीबाट पालिकामा जानकारी गराएर तथ्याङ्क लिइएको बताइएको छ ।
बाहिरबाट आउने यकिन गर्न र तिनको निगरानीका लागि जिल्लाका हरेक स्थानीय तहले विदेशबाट आउनेको तथ्याङ्क लिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सफल पोर्तेलले बताउनुभयो ।
यसैबीच जिल्लाका सबै स्थानीय तहले पालिकाभित्र शङ्का लागेका बिरामी भेटिए राख्नका लागि आइसोलेशन वार्ड निर्माण गरेका छन् ।
सबै स्थानीय तहले विद्यालय तथा अन्य उचित स्थानको खोजी गरेर आइसोलेशन वार्ड निर्माण गरेका हुन् ।
जिल्लामा हालसम्म २२ स्थानमा २७४ क्षमताको आइसोलेशन वार्ड निर्माण गरिएको प्रशासकीय अधिकृत पोर्तेलले बताउनुभयो ।
हालसम्ममा इलाममा होम क्वारेन्टाइनमा ८८ जना रहेको बताइएको छ ।