
बाल बिक्रम कार्की
रौतहट, १४ चैत्र । अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीसँग संर्घष गरिहेको छ । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकोे व्यक्ति–व्यक्ति बीचमा भौतिक सम्पर्क नहुनु नै प्रमुख हो ।
यसै कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले गत मंगलबारदेखि देशैभर एक हप्ताको लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको समयमा बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु मात्र बिहान र साँझको समय पारेर खोलिएका छन् ।
यस्ता पसल तथा बजारहरुमा मानिसको भीड हुने र दुरी कायम नहुने हुँदा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने प्रबल सम्भावना रहेको छ । तर लकडाउनको समयमा पनि खाद्यान्न, तरकारी, ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आवश्यकता पनि परिपूर्ती गर्न आवश्यक रहेको छ ।
यहीँ कुरालाई मध्यनजर गर्दै जिल्लाको गौर नगरपालिकाले सशस्त्र प्रहरीको सहयोगमा कम्तीमा पनि तीन फिटको दुरी कायम गरेर किनमेल गर्ने व्यवस्था मिलाएको छ । बिहीबारदेखि गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाट बजार सञ्चलानमा ल्याएको हो । नगरपालिका कार्यालयभन्दा पूर्वपट्टि रहेको तरकारी बजारलाई बिक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।
अबदेखि यस बजारमा किनमेल गर्नेहरुबीचमा तीन फिटको दुरी हुनेछ । सो बजारमा सशस्त्र प्रहरीले सामान किन्ने र बेच्नेहरुका लागि वर्गाकार घेरा बनाइदिएको छ । क्रेताका लागि सानो र विक्रेताको लागि ठुलो घेरा बनाइएको सशस्त्र प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरिक्षक रविनराज कर्णजीतले बताउनुभयो ।
क्रेता–क्रेता तथा विक्रेता बीचमा सामाजिक दुरी कायम रहोस् र किनमेल पनि पूरा होस् भनेर यो उपाय अपनाइएको उहाँले बताउनुयो । हाल गौरको तरकारी बजारबाट सुरु गरिएको यो अभ्यास विस्तारै खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुहरुको पसलहरुमा पनि लागू गरिने उहाँको भनाइ छ ।
‘यो नमुनाको लागि सुरुवात गरेका हौँ’ उहाँले भन्नुभयो, ‘अब विस्तारै अन्य पसलहरु तथा जिल्लाका अन्य स्थानिय तहहरुमा पनि यो अभ्यास गराउँछौँ । यसका लागि ती स्थानिय तहसँग हामी सहकार्य गर्दैछौँ ।’
सो बजारमा सामाजिक दुरी कायम गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ भने किनमेल गर्न आउने सबै सर्वसाधरणको लागि मास्क अनिवार्य गरिएको छ । यो बजारमा आएपछि कसैले पनि तछाँडमछाँड गर्न, भीड गर्न र अनावश्यक गफ गरेर बस्न पाउने छैनन् । बजारमा किनमेल गरेर सकिएपछि क्रेता यताउता नडुलीकन सिँधै घर जानुपर्ने छ । यो कुराको निगरानी सुरक्षाकर्मीले नियमित रुपमा गर्नेभएका छन् ।
त्यसैगरी त्यहाँ ड्युटी गर्ने सशस्त्र प्रहरीहरुलाई पनि मास्क र पञ्जा अनिवार्य गरिएको छ । बजारमा कसैले कसैलाई छुन नपाउने गरि व्यवस्था मिलाइएको छ । किनमेल गर्नेले पनि मास्क लगाउने गरेका छन् ।
सामाजिक दुरी कायम गर्दै उपभोक्तालाई उपभाेग्य सामानकाे आपुर्ति मिलाउन यस्तो उपाय अपनाइएको गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताले बताउनुभयो । लकडाउनको बेला पनि सर्वसाधरणलाई दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्ने भएकाले यस्तो उपाय लगाइएको उहाँले बताउनुभयो ।
‘भीडभाडमा किनमेल गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्नसक्छ,’ उहाँले भन्नुभयो , ‘त्यहीँ संक्रमणको जोखिमलाई कम गर्दै सर्वसाधरणको आवश्यक सामानहरुको किनमेल गराउन यो व्यवस्था गरेका हौँ । अब यसलाई हामी अन्य पसलहरुमा पनि विस्तार गछौँ ।’ उहाँले लकडाउनको मौका छोपी कालाबजारी पनि हुनसक्ने भन्दै नियमित रुपमा बजार अनुगमन गरिरहेको सुनाउनुभयो ।
यस्तो खाले व्यवस्थालाई अन्य स्थानीय तहले पनि विस्तार गर्नुपर्ने चन्द्रपुर नगरपालिकाका व्यवसायी सुरेन्द्र सापकोटाले बताउनुभयो । यसरी व्यवस्थित रुपमा सामाजिक दुरी कायम गर्दै संचालन गरिएको किनमेल उपभोक्ताको आवश्यकता पनि पुरा हुने तथा कोरोना भाइरसको संक्रमणको जोखिम पनि न्यून हुने भएकाले यो निकै राम्रो कदम भएको उहाँको भनाइ छ ।