
नयाँदिल्ली : कोरोना भाइरस रोकथामका लागि भारतले २१ दिनको लकडाउन थपेको छ ।
यसको असर श्रमजीवी युवाहरुमा देखिन थालेको छ । खासगरी टाढाको सहरमा गएर काम गरिरहेका मानिस लकडाउन घोषणा भएसँगै घर फर्कन थाले । सरकारले भने लकडाउनका बेला सडकमा हिँड्न प्रतिबन्ध लगाएको छ । खासगरी उत्तर प्रदेशका विभिन्न गाउँका युवाहरु लकडाउन घोषणा भएसँगै टाढाको सहरबाट भोकै सयौँ किलोमिटर पैदल हिँडेरै घर फर्किँदैछन् ।
तर विभिन्न ठाउँमा प्रहरीले उनीहरुलाई यातना दिने गरेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । हालै उत्तर प्रदेशको बुदउन सहरमा युवाहरुलाई कर्फ्यू उल्लंघन गरेको भन्दै अमानवीय तरिकाले कान समातेर टाउको निहुराउँदै ‘कुखुरा’ बनेर हिँड्न लगाएको भिडिओ भाइरल बनेको छ ।
हालै सार्वजनिक भएको उक्क्त भिडिओमा युवाहरुको समुहलाई प्रहरीले बलपूर्वक ‘कुखुरा’ बन्न लगाएर हिँडाउँदैछ । साथै पछाडिबाट लठ्ठीले पिटिरहेको देखिन्छ । खासमा उनीहरु लामो समयदेखि सहरमा काम गर्न गएका गाउँका बासिन्दा थिए । सरकारले लकडाउन गरेपछि गाउँ फर्किँदै गरेका थिए । यस्तो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रहरी प्रमुख एके त्रिपाठीले आफू लज्जित भएको र माफी मागेको बताएका छन् ।