
डोटी, सुदूरपश्चिममा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ ।गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा यो हल्ला फैलिएको हो ।सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा विहिबार मध्येरातीदेखि घरको मूल दैलोमा खन्दा कोइला जस्तो देखिने कालो वस्तु भेटिने र त्यसको तिलक (टीका) बनाएर लाएमा विश्वव्यापी सङ्क्रमण भईरहेको कोरोना भाईरस नलाग्ने भन्दै सबैले त्यहि गरिरहेका छन् ।शुक्रबार बिहानै डोटीको सिलगढीमा पनि यो हल्लाका आधारमा मानिसहरु दैलो खन्दैछन् ।
कोहि तिलक लगाएर हिंडिरहेको पनि पाईएको छ ।बिहान साढे ८ बजेको समयसम्म पनि मानिसहरु आ–आफ्नो मूल ढोकामा खनिरहेका दृष्य सजिलै देखिएका छन् । खनेको ठाउँमा कोइला निस्किरहेको पनि देखिएको छ ।तर यो हल्ला कहाँबाट शुरु भयो भन्ने विषय पत्ता लाग्न सकेको छैन ।डोटीको जोरायल गाउँपालिका वडा नं. ३ बेल्टुक्रा घर भई कैलालीमा एक सँस्थागत विद्यालयमा कार्यरत शिक्षक तीर्थराज भट्टले यस्तो खबर आफन्तहरुबाट आफुलाई राती १ बजेको समयमा आएको र यसको सत्यतथ्य पत्ता लगाई सन्देश फैलाई दिन पत्रकारहरुलाई अनुरोध गर्दै फेसबुकमा स्टाटस समेत राखेका छन् ।
यसका साथै आफ्नो आमाले पनि सोहि हल्ला बमोजिम गर्न खोज्दा भ्रमपूर्ण काम आफुले गर्न नदिएको उनले बताए ।उनको स्टाटसको कमेन्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरुले पनि सोहि कुरा आफुहरु कहाँ पनि आएको र भनिए बमोजिम दैलोमा कालो वस्तु भेटिएको जनाएका छन् ।यस विषयमा शिक्षण पेशामा कार्यरत डोटीको केआईसिंह गाउँपालिका वडा नं. ६ का यज्ञराज भट्टले पनि गाउँभरी हल्ला फैलिएको र सोहि बमोजिम स्थानीयले दैलोमा खन्दा भेटाईएको कोइलाको तिलक लगाएको पाईएको जानकारी दिए ।
आफुले भने यो हल्ला ढिलो गरी सुनेको र आफुलाई केहि जानकारी नभएको उनले बताए ।त्यस्तै डोटीमा शिक्षण पेशामा कार्यरत गोदावरी नगरपालिका वडा नं. ८ स्याउले कैलालीका केशवाआरसी भट्टराईले पनि आफ्नो घरमा सोहि बमोजिम गरेको तर आफुले भने सो तिलक नलगाएको जानकारी दिए ।यस विषयमा डोटी सदरमुकाम सिलगढीको खलंगाका ७७ वर्षे पदम थापा पनि तिलक लगाएको अवस्थामा सिलगढीमा हिड्दै गरेका भेटिए । उनले बिहान साढे ७ बजेको समयमा दैलोमा खन्दा कालो कोईला भेटिएको बताए ।
यो हल्ला सुनेर सिलगढीको टुँडिखेल नजिकै तल्लो बजारका मानिसहरुले पनि घर घरमा खन्दा कालो कोईला भेटिएको जानकारी पाएको दिपायल सिलगढी नगरपालिका कार्यपालिका सदस्य दीपा श्रेष्ठले बताईन् । धेरै जसो ठाउँबाट यस्तो हल्ला आईरहेको आफुले पनि सुनेको उनले बताईन् ।हुन त घर–घरमा दाउरा प्रयोग गरी आगो बाल्ने हुँदा त्यहाँ माटोमा पुरिएको कोइला भेटिने कुरा स्वभाविकै हो । यसै कुरालाई भ्रम फैलाइएकोे पनि कतिपयको बुझाई छ ।यस विषयमा हामीले सुदूरपश्चिमका परिचित धनगढी कैलाली निवासी ज्योतिष मनिराज जोशीसँग पनि सम्पर्क गरेका छौं ।
उनका अनुसार यति बेला विश्वमै कोरोना भाईरसले विपद सिर्जना भएको हुँदा दैवि शक्तिका रुपमा यो हल्ला मात्रै नभएर सत्य पनि हुनसक्ने बताए ।उनले भने–‘म आफैमा यतिबेला कोरोनाका कारण होम क्वारेन्टाईनमा छु, मैले यो हल्ला त सुनेन, तर हाम्रो सुदूरपश्चिम देवभूमि हो, यस क्षेत्रमा महाविपदहरुको समयमा दैवीशक्ति प्रकट हुने कुरा श्रीमदभगवत गीताको चौथो अध्यायमा भगवान कृष्णले अर्जुनलाई भन्नुभएको उल्लेख पनि छ ।’उक्त अध्यायमा कृष्णले ‘परित्राणेष साधोनाम् विनाशायच दुश्कृताम् धर्म सँस्थापनार्थाय सम्भवामी युगे–गुगे, यदा यदाहि धर्मश्य ग्लानिर्भवति भारतः अभ्यूत्थानम् मधर्मश्य तदात्मानम् सृजाम्यहम् ’ लेखिएको छ ।
जसको अर्थ जब पृथ्विमा कुनै संकट पर्छ, भगवानका भक्त, सनातन धर्माबलम्बी, स्वावलम्बी, सदाचारीहरुमाथि आपत आईलाग्दा, दुश्मनको बाहुल्यता बढ्छ, अनाचार अत्याचार बढाउँछन्, कुकर्म बढाउँछन् भने कुनै न कुनै बेला अवतार भई पृथ्विको भार हरण गर्नेछु भनेका छन् – उनले भने ।यद्यपी दैलोमा खन्दा कोइला जस्तो वस्तु भेटिने र त्यसको तिलक लगाउँदा कोरोना संक्रमण नहुने कुरा ज्योतिष शास्त्रिय हिसाबले ठम्याउन नसकिने उनले बताए ।तर यस्तो हल्लाको पछाडी नलागेर कोरोना भाईरसबाट बच्न स्वास्थ्यकर्मीहरुका सुझाव सल्लाहलाई आत्मसाथ गरि उच्च सतर्कता अपनाउनु नै उत्तम हो ।