परिवारका सबैलाई रुघाखोकी र ज्वरो आएपछि अस्पताल पठाइयो
इलाममा कोरोना भाइरसको सम्भावित लक्षण देखिएका ८ जनालाई कोशी अस्पताल विराटनगर पठाइएको छ ।
भारतको नयाँ दिल्लीबाट काँकडभिट्टा नाका हुँदै नेपाल आएका इलाम नगरपालिका–४ बरबोटेका ३३ वर्षीय एक पुरुषसहित ८ जनालाई अस्पताल भर्ना गरिएको हो ।
उनीहरुमा रुघाखोकी, ज्वरो आउने, सुक्खा खोकी लाग्ने जस्ता समस्या देखा परेपछि बिहीबार साँझ साढे ५ बजे जिल्ला अस्पताल इलाम लगिएको थियो ।
तर चिकित्सकले उनीहरुलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि उनीहरुलाई प्रहरीले कोशी अस्पताल विराटनगर पठाएको छ ।
विराटनगर पठाएकामा ती पुरुषकी श्रीमती, ७ महिनाकी छोरी, उनको छिमेकी एकै परिवारका ३ जना र छिमेककै अर्की एक किशोरी र उनकै घरमा डेरा गरी बस्ने एक युवतीसहित ८ जना रहेका छन् ।