
काठमाडौँ , स्वीट्जरल्याण्डमा पारिवारिक जमघटमा गएका १० जना नेपालीमध्ये अधिकांशमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । १० जनामध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएपछि परिवारका अरु सदस्यमा पनि कोरोना संक्रमण निश्चित भएको भन्दै स्वास्थ्य संस्थाले कोरोनाको परीक्षण गरेको छैन । सबैलाई घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । जेनेभामा गरिएको एउटा पारिवारिक जमघटको चार दिनपछि उक्त जमघटमा गएका सबैजना बिरामी भएका थिए । परिवारका एकजना बच्चाको स्कुलको साथीमा पोजेटिभ देखिएपछि बच्चाको कोरोना परीक्षण गरिएको थियो ।
बच्चापछि बच्चाका बाबुआमाको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । श्रीमान्को पोजेटिभ देखिएपछि डाक्टरले श्रीमतिको टेस्ट नगरेको र परिवारका अधिकांशमा पोजेटिभ देखिएपनि बाँकी सदस्यको टेस्ट नगरेको उक्त जमघटमा सहभागी एक नेपालीले जानकारी दिए ।उक्त जमघटमा सहभागी १० जना नेपालीमध्ये ९ जना बिरामी भएका छन् भने एकजनामा लक्षण देखिएको छैन । बिरामीहरु कसैको पनि अवस्था गम्भिर नरहेको त्यहाँबाट जानकारी प्राप्त भएको छ ।‘उक्त जमघटबाट फर्केपछि मेरो सुघ्ने र स्वाद लिने शक्ति नष्ट भएको छ ।
गुन्द्रुक पकाएर खाँए, सिद्रा पकाएर खाँए तर पनि कुनै गन्ध र स्वाद महसुस गर्न सकेको छैन । अदुवा चपाउँदा समेत कुनै स्वाद महसुस भएको छैन ।’ – उक्त जमघटमा सहभागी एकजनाले बताए ।आफ्नो सुघ्ने र स्वाद लिने शक्ति गुमेको जानकारी दिएपछि डाक्टरले कोरोना संक्रमण निश्चित भएको र घरमा नै आराम गर्न सुझाव दिएको उनले बताए । बढी नै बिरामी भएमा भने अस्पताल जान डाक्टरले सुझाव दिएका छन् । अहिले सबैजना सेल्फ क्वारेन्टाइनमा नै रहेका छन् ।उनीहरु मार्च ७ मा पारिवारिक जमघटमा गएका थिए भने मार्च ११ पछि एकजनाबाहेक सबैजना बिरामी भएका थिए ।
त्यतीबेलादेखि नै सुघ्ने र स्वाद लिने शक्ति गुमेकोमा १६ दिन भइसक्दा पनि नफर्केको उनले बताए ।अहिलेसम्म स्वीट्रल्याण्डमा कतिजना नेपालीमा कोरोना संक्रमण भएको छ भन्ने पुष्टी भएको छैन । स्वीट्रल्याण्डमा अहिलेसम्म १० हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १५३ जनाको मृत्यु भएको छ ।