
नेपालमा कोरोनाभाइरस (कोभिड १९) को तेस्रो संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बुधवार गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि तेस्रो संक्रमित भेटिएको पुष्टि बुधवार नै गरिसकेको छ ।
उच्च स्रोतका अनुसार ती व्यक्ति युएईको दुबईबाट नेपाल आएका थिए । उनको घर धादिङ हो । उमेर भने ३२ वर्ष छ ।
‘उनको घर धादिङ हो, दुबईबाट नेपाल आएका रहेछन्,’ स्रोतले भन्यो ।
गम्भीर कुरा त के भने उनी नेपाल आइसकेपछि धेरै घुमघाम गरेको र होटलहरू तथा पार्टीमा समेत सामेल भएको स्रोतको दाबी छ ।
कोरोनाको लक्षण देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।
अस्पतालले उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।
उनमा कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि पहिलोपटक गएराति १२ बजे भएको थियो ।
कन्फर्म हुनका लागि बुधवार दोस्रोपटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ पाइयो ।
अहिले उनको टेकु स्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
नेपालमा यसअघि नै अन्य २ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
उनी पनि अहिले टेकुमै उपचाररत छिन् ।
कोरोनाका पहिलो संक्रमित भने निको भइसकेका छन् । चीनको वुहानबाट आएका युवकमा कोरोनाको संक्रमण पाइएको थियो ।
उनी पूर्णरूपमा निको भइसकेको दाबी सरकारको छ ।