
सुनसरी / भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना र फ्रान्सबाट कोरोना संक्रमति युवती सँगै आएका ३ जनालाई कोरोनाको आशंकामा अस्पताल पठाईएको छ । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना संक्रमणको जोखिम बढेपछि हिजो घर फर्किएका थिए । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना इनरुवा र अर्का महेन्द्रनगर चक्रघट्टीका रहेका छन् । इनरुवा घर भएका युवामा ज्वरो देखिएपछि उनलाई इनरुवा नगरपालिकाले बस चोकमा संचालनमा ल्याएको क्वारेन्टाइन स्थलमा पु¥याइएको थियो ।
क्वारेन्टाइनमा खटिएको टोलीले अस्पतालको सिफारिस आवश्यक पर्ने भनि फर्काए पछि इनरुवा अस्पतालका मेसु डा.सन्तोष राईले चेकजाँच गरेका छन् ।डा.राईका अनुसार इनरुवा घर भएका युवामा ज्वरो देखिएको छ । सामान्य रुपमा सुख्खा खोकी लागेको भएपनि स्वासप्रश्वासमा भने समस्या नदेखिएको राईले जानकारी दिए । उनीसँगै भारतबाट आएको भएकाले अर्का युवालाई समेत अस्पतालमा चेकजाँच गरिएको डा. राईले बताए । अस्पतालले चक्रघट्टीका युवाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य रहेको बताए । यद्यपी इनरुवा अस्पतालले भारतमा कोरोनाको संक्रमण देखिएको र संवेदनशील क्षेत्रबाट आएको हुँदा दुवै युवालाई थप परीक्षणका लागि धरान रेफर गरिएको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले इनरुवा अस्पतालमा आएका शंकास्पद बिरामीको चेकजाँच पश्चात थप परीक्षण गर्न वीपी प्रतिष्ठान धरान रेफर गरिएको जानकारी दिए ।
यसैबिच संक्रमित युवतीसँगै कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ मा नेपाल आएका दुईजना युवक उदयपुरको बेलका आइपुगेको खुलेको छ । फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवकहरु उदयपुरमा भेटिएका हुन् । उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। उनीहरुलाई ज्वारो पनि आएको छ ।
‘यसबारेमा प्रदेश १ का मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय, स्वास्थ मन्त्रालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई गराइएको छ’, बेलकाका मेयर दुर्गा कुमार थापाले भने, ‘तर सबैले एकले अर्कोलाई जिम्मा दिएको भनेर पन्छिएका छन्।’ सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। बेलका नगरपालिकाका ती दुई युवाहरुलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर थापाले बताए । उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै आएकाहरुको खोजी सुरु भएको थियो। बेलका नगरपालिकाले खोजी गर्दा ती युवाहरु घरमै रहेको पाइएको छ। उनीसँगै आएकी काठमाडौंकी संक्रमित किशोरीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उता युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ । ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ । सोमबार ती युवतीसँग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति हरुलाई क्वारेनटाइनमा कसरी पठाउने भन्नेबारे उपमहानगरपालिकाको बैठकमा छलफल भइरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।
आकस्मिक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने ? भोलि बुधबारदेखि धरानमा कोही पनि मानिस बाहिर हिँडडुल गर्न नदिनेबारे पनि छलफल भइरहेको बताइएको छ । यसैगरी कोरना भाइरसको संक्रमण पुष्टि भएको फ्रान्स बाट आएकी १९ बर्षिय युवतिसँगै फ्लाइटमा आएका झापाका एक युवालाई समेत क्वारेन्टाईन पठाईएको छ । संक्रमण फैलन नदिन ति युवालाई क्वारेन्टाइनमा पठाइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए । संक्रमण फैलन नदिन ति युवतिसँग सम्पर्कमा आएका मानिसहरुको खोजी भइरहेको छ ।