
उदयपुरकी ३२ वर्षीय एक युवती कतार एयरवेजमार्फत कतार हुँदै साइप्रस पुगिन् ।
त्रिभुवन विमानस्थल र कतारको ट्रान्जिटमा उनलाई कुनै रोकतोक भएन, साइप्रस पुगेपछि भने विमानस्थलमै रोकियो ।
कतारमा लगभग ५ घण्टाको ट्रान्जिटपछि साइप्रस पुगेकी थिइन्, साइप्रसले उनलाई कोरोना नलागेको मेडिकल सर्टिफिकेट ल्याएपछि मात्र विमानस्थलबाट बाहिर निस्किन दिने भन्दै फिर्ता पठायो ।
७ वर्षदेखि साइप्रस बस्दै आएकी उनी २२ दिनको बिदामा नेपाल आएकी थिइन् । क्यारेन्टाइनमा बस्छु भन्दा पनि उनले साइप्रस प्रवेश गर्न पाइनन् ।
त्यहाँबाट फिर्ता भएकी उनी मार्च १७ तारिख अर्थात् चैत ४ गते मंगलवार बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गरिन् । अवतरणपछि उनलाई हेल्थ सर्टिफिकेट लिएर फेरि साइप्रस जाने हातारो थियो ।
शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुबाट उनले कोरोना संक्रमण नभएको सर्टिफिकेट लिइन् ।
उनी सर्टिफिकेट लिएर कतार एयरलाइन्सको अफिसमा टिकट काट्न गइन् तर उनले टिकट पाइनन् ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरिसकेको थियो । अहिले उनी काठमाडौंमै आफन्तको घरमा छिन् ।
नेपालमा कोरोना संक्रमण भएको दोस्रो बिरामी भेटिएको खबर सार्वजनिक भएपछि उनी नराम्ररी झस्किइन् ।
फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलवार काठमाडौं फर्किएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि सोमवार सरकारले गर्यो ।
सरकारले ती युवतीले यात्रा गरेको विमानबारे स्पष्ट नखुलाए पनि दोहा ट्रान्जिट भनेकाले कतार एयरवेज नै भएको सहज अनुमान धेरैले लगाए ।
सोही दिन दोहाबाट काठमाडौं आएकी उनी अहिले तनावमा छिन् । खबर सार्वजनिक हुनेबित्तिकै उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा फोन गरिन् ।
अस्पतालका तर्फबाट खासै रेस्पोन्स नपाएको उनको गुनासो छ ।
‘मलाई के गरौं, कसो गरौं भयो, टेकु अस्पतालका डाक्टरलाई फोन गरें,’ उनले लोकान्तरसँग भनिन् ।
डाक्टरले उनलाई कोरोनाको केही लक्षण देखिएको छ ? भनेर सोधे । कुनै लक्षण नदेखिएको बताएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिए ।
‘अस्पतालका डाक्टरले खासै चासो दिएनन् मलाई मनमा छटपटी भयो, अरूलाई सुनाउन पनि सकिनँ,’ उनले भनिन् ।
सरकारले त्यो दिन कतार एयरवेजमा आएका यात्रुहरूको खोजी गरिरहेको छ भन्ने त सुनिन्, तर आफैंले फोन गरेर जानकारी गराउँदा पनि वास्ता नगरेको देख्दा उनी निराश छिन् ।
‘सरकारले त त्यो फ्लाइटमा आएका सबैलाई खोजी राखेको छ भन्ने समाचारहरू आएका छन् तर अस्पतालमा सम्पर्क गर्दा समेत कसैले वास्ता गर्दैनन्,’ उनको गुनासो छ ।
‘आफैं खोजेर जाँदा त वास्ता नगर्ने सरकारले खोजेर कसरी ल्याउला ?’ उनी आशंका व्यक्त गर्छिन् ।
सरकारले देशैभर लकडाउन आज उनी आफैं टेकु अस्पतालमा पुगिन् ।
‘बन्द भएपनि आफूलाई कोरोनाको संक्रमण छ कि छैन भनेर जचाउँन टेकु आएकी छु, अरू सबै जाँचियो स्वाब टेस्टको नतिजा आउन समय लाग्ने रहेछ,’ उनले भनिन् ।
आफ्नै पहलमा अस्पताल पुगेर चेकजाँच गराएपछि उनी केही आश्वस्त भएकी छन् ।
कोरोना संक्रमण भए/नभएको रिपोर्ट भने आउन बाँकी नै छ ।