
उदयपुर – कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित युवतीसँगै कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ मा नेपाल आएका दुईजना युवक उदयपुरको बेलका आइपुगेको खुलेको छ।
फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका उदयपुरमा भेटिएका हुन्।
उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। उनीहरुलाई ज्वारो पनि आएको छ। सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ।
बेलका नगरपालिकाका ती दुई युवाहरुलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर दुर्गांं कुमार थापाले बताए। साथै उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य सुरु भएको थियो। बेलका नगरपालिकाले खोजी गर्दा ती युवाहरु घरमै रहेको पाइएको छ। उनीसँगै आएकी काठमाडौंकी संक्रमित किशोरीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।