
काठमाडौं : सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाले रकम सहयोग गर्ने घोषणा गरेका छन्।
सरकारको नाममा सिंहदरबारमा १९६०००००११०१ नम्बर खाता रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको थियो।सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय गरिसकेका छन्।
कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिकरुपमा सहयोगको घोषणा गरिरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब राहतको रुपमा दिने घोषणा गरेकी छन् । उपराष्ट्रपति नन्दबहादुर पुनमगरले पनि एक महिनाको पारिश्रमिक दिने भएका छन्।
यस्तै प्रधानमन्त्री तथा संघीय सरकारका मन्त्रीहरुले एक एक महिनाको पारिश्रमिक दिने बताएका छन्। यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि एक महिनाको पारिश्रमिक दिने बताएका छन्। राहत कोषमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको निर्माण व्यवसाय विकास परिषद्ले १ करोड दिने घोषणा गरेको छ।
वसन्त चौधरी फाउन्डेसन र नर्भिक अस्पतालले ५० लाख नगद र ५० लाख बराबरको आवश्यक औषधिसहित सम्बन्धी सामाग्री गरी कुल १ करोडको सहयोग गर्ने जनाएको छ। भक्तपुरका प्रतिनिधिसभा सांसद महेश वस्नेतले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन्।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका माधव शर्मा, लालबाबुप्रसाद यादव, नेत्रबहादुर थापा, लक्ष्मी कार्की, स्वकीय सचिवालयतर्फका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीसहित सोमकुमार राई, शिव भट्टराई, खेमचन्द्र ढकाल, जिबच्छ साह, हिरामणि आचार्य र दीपा शर्माले एक/ एक महिनाको पारिश्रमिक दिने भएका छन्।
यस्तै उक्त कोषमा प्रधानमन्त्रीको नीजि सचिवालयका ७ जना, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य र आइटी विज्ञ अस्गर अलीले एक एक महिनाको पारिश्रमिक दिने भएका छन्।
प्रधानमन्त्रीको नीजि सचिवालयकै ४ जना (विकास पूर्वाधार विज्ञ इञ्जिनियर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईँ र स्वकीय सहसचिव दिपेन्द्र दाहाल, होमबहादुर थापाको) आधा– आधा महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन्।
कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्रकाशले सरकारसम्म र्पुयाइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले उक्त कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनले आज यो घोषणा गरेका हुन् ।
भाटभटेनी सुपरमार्केटसका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
यस्तै कोषमा गैह आवसीय नेपाली संघ एनआरएन द्धारा १ करोड रकम सहयोगको घोषणा गरेको छ। कोषमा ग्लोबल आइएमई बैंकले १ करोड सहयोग गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।