बेइजिंग । चीनका एक शीर्ष कोरोनाभाइरस विज्ञले देशमा कोरोनाको प्रकोपले फेरि महामारी लिन सुरु गरेको भन्दै चेतावनी दिएकी छन्।
विदेशबाट आएकाहरुमा भेटिएको संक्रमणको बढ्दो संख्याका कारण देशले दोस्रो प्रकोपको सामना गरिरहेको उनले बताएकी छन। भाइरस विज्ञ टोलीकी सदस्य रहेकी प्रोफेसर.ली लान्जुआनले भनिन् ‘यो निकै चिन्ताको बिषय छ।
आयातित संक्रमणका घटनाले देशमा अर्को ठूलो स्तरको महामारी निम्त्याउँन सक्छ।’ टर्कीबाट आएका मानिसको सम्पर्कबाट एक व्यक्तिमा पहिलो पटक कोरोनाको संक्रमण पुस्टि भएसँगै भाइरस विज्ञको यस्तो चेतावनी आएको हो। भाइरसको ‘इपिसेन्टर’ वुहानमा ‘लकडाउन’बाट जनजिवन बिस्तारै सामान्य बन्दै गइरहेको भन्ने खबरका बीच विज्ञले यस्तो प्रतिक्रिया दिएकी हुन।
प्रोफेसर लिले चाइना टुडेसँगको कुराकानीमा आयातित संक्रमणका घटनाको नियन्त्रण र रोकथाम स्वास्थ्यकर्मीहरूका लागि निकै कठिन हुने बताइन्। उनले अन्य शहरहरुमा भाइरसको महामारी फैलन नदिन तत्काल कदमहरु चालिनुपर्ने बताएकी छन। प्रोफेसर ली वुहानमा कोरोना विरुद्धको लडाईमा मेडिकल टिमको नेतृत्व गर्दै ५० दिनसम्म खटिएकी विज्ञ हुन। प्रोफेसर लीले बेइजिंग, संघाई, शेन्झेन लगायतका सहरमा विदेशबाट आउजाउ निकै हुने भएकाले ‘चिन्तित’ रहेको बताइन्। उनले अधिकारीहरूलाई परीक्षणको दायरा बढाउन समेत आग्रह गरेकी छन्। आधिकारीक पुस्टि नभएका तर संक्रमित भएकाहरु हुनसक्ने उनको चिन्ता छ।
यहि मार्च १७ मा गोन्झाओ सहरमा टर्कीबाट आएका व्यक्तिको सम्पर्कबाट एक व्यक्तिमा पहिलोपटक कोरोना भेटिएको पुस्टि भएको हो। कोरोनाको पुस्टि भएसँगै अधिकारीहरुले विदेशबाट आएका सबैलाई अनिवार्य १४ दिन सम्म क्वारेन्टाइनमा राख्न निर्देशन गरेका छन्। चिनिँया अधिकारीहरुले विदेशीबाट सरेर आएकामा ३९ जना संक्रमित रहेको जनाएको डेलीमेलले उल्लेख गरेको छ।