
नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ।
कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उडान संख्या घटाउने निर्णय गरेको हो।
कोरोनाको जोखिमका कारण एकातिर यात्रुहरु पाइनै छाडेको अर्कोतिर स्वास्थ्य जोखिम पनि बढेका कारण भोलिदेखि ६ जहाज ग्राउन्डेड गर्न लागिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले जानकारी दिए। बुद्धसँग १३ जहाज छन्।
बुद्धले उडान भने जारी राख्ने बताएको छ। यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर बिदा बस्न निर्देशन दिइसकेको छ। बुद्धले विदामा बस्ने कर्मचारीलाई पुरै तलब दिने भएको छ।
घरबाहिर निस्किंदा र यात्रा गर्दा कोरोना भाइरस(कोभिड १९)को संक्रमण हुने जोखिम बढ्ने भन्दै एयरलाइन्सले यात्रुलाई सकभर घरभित्रै बस्न आग्रह गरेको छ।
‘बुध्द एयरले पनि आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्न लागेको छ । विस्तारै अरू उडानहरू पनि कम गर्ने हाम्रो सोच छ । उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको छ। अबको परिस्थितिमा हामी सबै नेपाली ‘केही साता सुरक्षितसाथ घरमै बस्नुपर्छ’’ एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
बुद्ध एयरले सबै क्रियाकलाप तुरुन्त बन्द (लकडाउन) गरी घरमै सुरक्षित बस्न सुझाएको छ।