
काठमाडौं । आन्तरिक वायूसेवा कम्पनीहरुले मनलाग्दी तवरले हवाईभाडा असुल गरेका छन् । न्यूतम भाडा निर्धारण गरेर सेवा प्रदान गर्दै आएका कम्पनीले ३ गुणासम्मले बढाएका छन् ।
कोरोना भाइरसको कारण उपत्यकाबाट बाहिर जाने बढेसँगै विमान सेवा कम्पनीहरुले मनलाग्दी भाडा असुल्न थालेका हुन् ।
आज काठमाडौंबाट धनगढी जान एकतर्फ भाडा करिब १० हजार रुपैयाँ असुल्न थालिएको छ । केही दिनअघि विमान संचालक संघले प्रकाशित गरेको भाडा दरमा ३९७५ रुपैयाँ भाडा कायम गरिएको छ ।
त्यस्तै काठमाडौं भैरहवा निकै धेरै उडान हुने भएपनि एयरलाइन्स कम्पनीहरुले यहाँको भाडा पहिलेको तुलनामा झण्डै दोब्बर बनाइएको छ । आज बिहान भैरहवा जान एकतर्फी भाडा ६ हजार रुपैयाँ असुल्दै आएका छन् ।
पोखरा जाने हवाई भाडा केही दिन अघिसम्म १८ सय रुपैयाँ रहेकोमा अहिले बढाएर ५ हजार बनाइएको छ । यसले आपतको समयमा एयरलाइन्स संचालकहरुले मनलाग्दी भाडा असुल्दै यात्रुलाई आर्थिक भार थोपर्न थालेका छन् ।
हिजो शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा वायु सेवा सञ्चालकले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका थिए । तर, आज कुनैपनि विमान संचालक कम्पनीले मूल्यमा परिवर्तन गरेका छैनन् ।
छलफलमा मन्त्री भट्टराईले हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रङ्क रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा स्ल्याबका हवाई भाडा हटाई सो भन्दा कमको भाडादरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न अनुरोध गरेका थिए।