
केटीएम दैनिक । १० चैत, काठमाडौं :
अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ४ सय १९ पुगेको छ ।
अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने चेतावनी दिएका छन् ।
आइतबार नयाँ तथ्यांकहरूको खुलासा भएको छ किन अमेरिकाको न्यूयोर्क राज्यमा मात्रै अहिले विश्वव्यापी कोरोनाभाइरसको झन्डै ५ प्रतिशत घटनाहरू देखिएका छन् । अमेरिकाको सबैभन्दा व्यस्त व्यापारिक केन्द्र मानिने न्यूयोर्कमा मात्रै १५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ, भने न्यूयोर्कमा मात्रै ११४ को ज्यान गएको छ। जुन अमेरिकाका अन्य राज्यमा भन्दा बढी हो ।
संक्रमणका हिसाबले विश्वमा चीनभन्दा दोस्रो बढी संख्या इटलीमा र त्यसपछि अमेरिकामा देखिएको छ । अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा संक्रमण देखा परेको र ४१९ जनाको मृत्यु भएको हो ।
न्यूयोर्कमा भएका घटनाहरूको संख्यामा पछिल्लो समय उल्लेखनीय वृद्धि भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले परीक्षण गर्दै जाँदा कोरोनाभाइरस कति छिटो फैलिरहेको छ भन्ने प्रकट गरिरहेको बताएका छन् । न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । त्यहाँ पछिल्लो समय दिनैपिच्छे संक्रमितहरू बढिरहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
उता कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । उनी स्वयं पनि क्वारेन्टाइनमा बसेको जनाइएको छ ।
यसैगरी कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पुजास्थल लगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
हाल विश्वका एक सय ९१ देश र एउटा पानीजहाजमा कोरोना भाइरस फैलिएको छ । संसारभर अहिलेसम्म तीन लाख ३६ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये ९७ हजार ६३७ जना उपचारपछि निको भइसकेका छन् । – एजेन्सीहरूको सहयोगमा