
न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहा दुई बालकलाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनको ७३ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ।
उनले सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याएका थिए। उनको मृत्युपछि मोन्टेफियोरे मेडिसिनका सीईओ डाक्टर फिलिप ओ ओजुआले भने ‘डाक्टर गूडरिच हाम्रो अस्पतालका नक्षत्र थिए, हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ ।’
डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए। जेडन र एनियसको शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ। अस्पतालका अनुसार उनी ओरेगनका स्थायी बासिन्दा थिए। साथै भियतनाम युद्धका बेला उनी अमेरिकी जलसेनामा पनि आबद्ध भएको अस्पतालले जनाएको छ। उनको श्रीमती र ३ छोरी रहेका छन्।