
काठमाडौं : रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षकी संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।
‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको छ ।’ पौडेलले भने, ‘प्रहरीले चालक नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल पठाइएको छ ।’ उनकाअनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको गरी २ जनाको मृत्युभएको हो ।
बोलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको थियो । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।
प्रशासनले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक र निजी यात्रुहबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो। दिउँसोको समयमा स्थानीयले विरोध गर्ने भएपछि अलपत्र परेका मजदुर लगाएत अत्यावश्यक काम परेर जिल्ला जानेहरु रातिको समयमा काठमाडौंबाट पास लिएर गइरहेका छन् ।