
दोहा–कतारले आप्रवासी कामदारलाई उपलब्ध गराउने परिचय पत्र (अकामा) नभएका श्रमिकहरु कोरोनाबाट संक्रमित भएमा निःशुल्क उपचार गरिदिने भएको छ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम बढ्दै गएपछि कतार सरकारले यस्तो निर्णय गरेको हो। अकामा नभएका आप्रवासीहरुलाई कतारको कानुनले अवैध ठहर्छ। रोजगारदाताहरुले अकामा नविकरण नगराई काममा खटाउँदा तथा करार अवधि सकिएपछि पनि अवैध रुपमा कतारमा काम गरिरहेकाहरुको संख्या निकै ठूलो रहेको अनुमान गरिन्छ ।
कतारमा अवैध रुपमा काम गर्ने नेपालीहरुको संख्या पनि निकै ठूलो छ।
त्यस्तै कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयकाअनुसार कतारले क्वारेन्टाइनमा रहेका सबै श्रमिकहरुलाई आधारभूत पारिश्रमिक तथा भत्तासमेत उपलब्ध गराउने भएको छ।
कतार सरकारको निर्देशनअनुसार बन्द भएका उद्योग,कलकारखाना तथा विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुको पारिश्रमिक सेवासुविधा तथा खान बस्न लगायतको सेवासुविधा सरकारले उपलब्ध गराउने भएको छ।
कोरोना संक्रमित श्रमिकहरुको पारिश्रमिक तथा सेवासुविधासमेत कट्टि नहुने श्रम तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यदि कसैलाई खोकी, ज्वरो आउने वा श्वास फेर्न कठिन हुने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त सरकारको हटलाईन नम्बर १६०० मा सम्पर्क गर्नका मन्त्रालयले अनुरोध गरेको छ। आपतकालीन अवस्था भएमा ९९९ मा सम्पर्क गर्न समेत मन्त्रालयले सुझाएको छ ।